राउटेलाई फोटोसहितको परिचयपत्र : मुखिया भन्छन्, ‘पछि नागरिकता लिनुपर्छ नभन्नू नि’

 असार ३१, २०७५ आइतबार १४:५२:३४ | अमर सुनार
unn.prixa.net

दैलेख – घाउचोट लागेको बेला औषधि लगाउन नमान्ने राउटेहरु अब फोटोसहितको परिचयपत्र बोकेर हिँड्ने भएका छन् ।

एउटै ठाउँमा मात्रै बस्न नमान्ने र प्रकृतिसँगै घुमफिर गरिरहने राउटेहरुको तथ्यांक पनि ‘कति छ’ भन्ने एकीन नभएको कतिपय समाजशास्त्री तथा मानवशास्त्री बताउने गर्छन् । दैलेखको गुराँस गाउँपालिका–८, गर्चा गाउँको तल पातलेखोला बस्तीमै पुगेर दैलेखको गुराँस गाउँपालिकाले शनिबार राउटेहरुलाई फोटोसहितको परिचय बाँडेको छ ।

राउटेलाई परिचयपत्र दिने विषयमा गाउँपालिकाले राय मागे अनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जेठ ३१ गते मन्त्रीस्तरको निर्णयपछि उनीहरुको परिचयपत्र बनेको हो । अहिले कायम रहेका ४२ घरधूरीका १ सय ४९ जना राउटेहरुलाई फोटोसहितको परिचयपत्र दिइएको छ ।  

परिचयपत्रमा सम्बन्धी व्यक्तिको नाम, जन्म मिति, बाबुको नाम, आमाको नाम, विवाहितको हकमा पति÷पत्नीको नाम समेत उल्लेख गरिएको छ । उनीहरुको ठेगाना ‘गुराँस गाउँपालिका वडा नम्बर–८, दैलेख’ लेखिएको ती परिचयत्रमा परिचयपत्र नम्बर समेत कायम गरिएको छ ।

परिचयपत्र नम्बरसँगै घर नम्बर, परिवारमा जेष्ठताको आधारमा क्रमसंख्या र अन्तमा चाहिँ राउटे समुदायको जनसंख्या भित्र सम्बन्धित व्यक्तिको क्रमलाई अंकमा जनाइएको छ । 

यी विवरण लिन सामाजिक सेवा केन्द्र (सोसेक)को तर्फबाट पत्रकार भक्त शाहीले काम गनुभएको थियो । मरेका व्यक्तिको नामै नलिने तथा आफ्नो जनसङख्याको जानकारी नदिने राउटेहरुको संस्कार रहेकोमा अभिलेखको महत्व बुझाएर मुश्किलले नाम र संङ्ख्या संकलन गरेको पत्रकार शाहीले बताउनुभयो ।

 
परिचयपत्र वितरणको लागि सरकारी टोली राउटे बस्तीमा पुगी सक्दा पनि ‘हामीलाई परिचयपत्र किन चाहियो ?’ भनेर लिन इन्कार गरेका राउटेहरुलाई राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले ‘परिचयपत्रले घाटा होइन फाइदै गर्छ’ भनी राउटे मुखियालाई सम्झाएपछि मात्र केही घरमूलीहरु परिचयपत्र लिन तयार भएका थिए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले राउटे समुदायका महामुखिया महिनबहादुर शाहीलाई परिचयपत्र गलामा झुण्ड्यादिएर हात मिलाएर फोटोसहितको परिचयपत्र वितरण कार्यको आरम्भ गर्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, उपाध्यक्ष दीपा बिसी, प्रमुख प्रशासकीय अधिकृत गणेशविक्रम शाह, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत अनिता ज्ञवाली, नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण बिसी, नेकपाका जिल्ला सदस्य कर्ण बिकलगायतले राउटेका घरमूलीहरुलाई परिचय वितरण गर्नुभयो ।

फोटोसहितको परिचयपत्र वितरणले राउटेहरुलाई सहयोग गर्नेहरुले योजना बनाउन सजिलो हुने सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माको विश्वास छ । दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले परिचय वितरणपछि तथ्यांक व्यवस्थापनमा सहयोग पुगेको बताउनुभयो । 

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयपछि फोटोसहितको परिचयपत्र दिइएकोले यो आधिकारिक भएको बताउनुभयो । राउटेहरु भ्रमणशील जीवन बिताउन चाहने भएकाले उनीहरुका लागि सरकारले विशेष प्रकारको परिचयपत्र दिएको हो ।

राउटेहरु नेपालभर जहाँ गए पनि यही प्रमाणपत्रको आधारमा उनीहरुको तथ्यांक संकलन गरिने र त्यसै अनुसार सरकारी सेवा सुविधा दिने गरी यसलाई अनिवार्य गराइने प्रमुख प्रशासकीय अधिकृत गणेशविक्रम शाहीले जानकारी दिनुभयो । 

राउटे मुखिया सूर्यनारायण शाहीले अहिले नै परिचयपत्र अनिवार्य गर्न सजिलो नहुने टिप्पणी गर्नुभयो । राउटे महिला विमली शाहीले सबैले सुरक्षित राख्न नसकिने भएकोले सेवा सुविधा दिँदा परिचयपत्र अनिवार्य गराउन नहुने उज्यालोलाई जनाकारी गराउनुभयो । सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हिरासिंह थापाले परिचयपत्रहरु प्लाष्टिक कोटेड भएकाले पानीमा भिजेर नबिग्रिने वा नच्यातिने समस्या बताउनुभयो । 

सबै राउटेहरुको एक–एक वटा परिचयपत्र गुराँस गाउँपालिकाले राखेको हुनाले हराएका वा नोक्सान भएकाहरुले तुरुन्तै आफ्नो परिचयपत्र पाउन व्यवस्था मिलाइएको जानकारी दिनुभयो । राउटे महामुखिया महिनबहादुर शाहीले आफूले परिचयपत्र लिँदा ‘अहिले परिचयपत्र त लिन्छौं पछि नागरिकता पनि बनाउनुपर्छ भनेर करकाप नगर्नू’ भनी शर्त राख्नुभएको थियो । 

राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–११, आमपानीमा स्थायी रुपमा बस्तै आएको छ । त्यसपछि अहिले परिचयपत्र दिइएको समूह अस्थायी रुपमा बस्तै आएका छन् । राउटेहरुको अन्य जिल्लाको बासस्थानबारे तथ्यांक फेला परेको छैन् ।

दैलेख आसपासमै फिरन्ते जीवन बिताउँदै आएको यो समूहले डडेल्धुरामा बालबालिका विद्यालय अनि वयस्कहरु मजदूरी गर्ने जस्ता सामान्य जनजीवनमा फर्किएको अवस्थामा उनीहरुलाई राउटे मान्न नसकिने दैलेखका राउटे मुखिया वीरबहादुर शाहीको टिप्पणी छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया