अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च

 असोज १५, २०७६ बुधबार ६:३७:४३ | रासस
unn.prixa.net

काठमाण्डौ – डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई दशैँ खर्च पठाउनुभएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरूको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही पाँच हजार रुपैयाँ खर्च पठाउनुभएको हो । ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् ।

उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्रीले देशका सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उचित शिक्षाको प्रबन्धका लागि नीतिगत सुधारको पहल गर्दै आउनुभएको र थप सकारात्मक सन्देश प्रवाहका लागि ती विद्यार्थीलाई प्रतिनिधिका रूपमा सहयोग गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो ।

दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा ती विद्यार्थी भर्ना गराई अभिभावकत्व ग्रहण गर्नुभएको थियो । सो दिन मुगुमा रारा पर्यटन महोत्सवको उद्घाटन, नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन र विद्यार्थी भर्ना अभियानको थालनी भएको थियो । 

प्रधानमन्त्रीसहित अन्य राष्ट्रिय नेता र मन्त्रीहरूले विभिन्न जिल्लामा वैशाखको पहिलो साता विद्यार्थी भर्ना गराउनुभएको थियो । अभिभावकत्व लिइएका विद्यार्थीको पढाइ बिग्रिएको र नेताहरूले चासो नदिएको भन्ने समाचारसमेत प्रकाशन भएपछि ती नेताका सचिवालयले थप चासो दिन थालेको हो ।

प्रधानमन्त्री ओलीले मुगुको कार्मारोङ गाउँपालिका–८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका छ वर्षीया छोरी थिल्ने साङ तामाङलाई बुद्ध मावि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गर्नुुभएको थियो । प्रधानमन्त्रीपत्नी शाक्यले सोही विद्यालयमा छेरिङ छोन्तोम लामालाई भर्ना गराउनुभएको थियो । 

विसं २०७५ असोज १० गते पनि प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालयका प्रतिनिधि तथा उहाँका प्रेस संयोजक चेतन अधिकारीले सिरहाको उक्त विद्यालयमा पुगी ती विद्यार्थीलाई सहयोग गरी उनीहरूको पढाइ र अन्य स्थिति बुझ्नुभएको थियो । संयोजक अधिकारीले कल्याणपुरका दुई विद्यार्थीको पढाइ र पारिवारिक अवस्था बुझी प्रधानाध्यापक लालदेव शाहमार्फत स्टेनशरी र पोसाक खर्च प्रदान गर्नुभएको थियो । सचिवालयका तर्फबाट त्यसअघि मुगुमा भर्ना गरिएको विद्यार्थीबारे चासो दिई सहयोग गरिएको थियो । 

रामदुलारी माविमा भर्ना भएका पाँच वर्षीय पवन मल्लिक र छ वर्षीया रूपा खत्वेका बुबाआमा डोको र डालो बुन्ने काम गर्छन् । यही विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्ना गराउनुभएका विद्यार्थी राहुल महरा पनि अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक शाहले प्रधानमन्त्रीको सचिवालयले समयसमयमा रकम र स्टेशनरी पठाइरहेको र दशैँ खर्चसमेत पठाएको बताउनुभयो ।

अहिले विद्यालय जाने उमेरका विद्यार्थीको भर्नादर ९७ दशमलव ६ प्रतिशत छ । सरकारले घोषणा हुन बाँकी २० जिल्ला पूर्ण साक्षर गराउने तयारी गरेको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सो वर्ष सञ्चालित पहिलो चरणको भर्ना अभियानमा विद्यालयबाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) ८८ हजार २०७ मध्ये ७६ हजार ६५७ विद्यार्थी भर्ना भएका थिए । 

सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइराख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन अभियान सञ्चालन जारी राखेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

2 Comments

  • बद्री तिम्सिना

    Oct. 2, 2019, 5:18 p.m.

    देशकै अभिभावकत्व छ पी एम ज्यु तपाइँमा। मेलम्ची समयमै आओस। राष्ट्रिय महत्वका अन्य आयोजना समयमै पूरा हुन। कर आतङ्क ले आक्रान्त जनतामा विकासको सपना मात्रै होइन बिपना पनि बाँडियोस। सूशासन र जन उत्तरदायिताले सबै सङ्गको सम्बन्ध प्रगाढ होस। भ्रष्टहरुलाई पाता फर्काएर नेल लगाइयोस। कानूनी राज्यको अनुभव गर्न पाइयोस। नेपालीहरु को ठूलो चाड बडादशैं नेपाल सम्बत तिहार छठ लगायतको उज्यालो सहित सबैलाई शुभकामना ।

  •  0 Reply
  • Ujwal Subedi

    Oct. 2, 2019, 8:31 a.m.

    Good work pm jeu Thanks for the positive news ujyalo online

  •  0 Reply

तपाईको प्रतिक्रिया