सरकारबाट उपचार खर्च पाउने परदेशीका परिवार

 असार ३१, २०७५ आइतबार १४:५६:४७ | सिर्जना बस्नेत

रामेछाप – परदेशमा छोराले पसिना बगाउँदै गर्दा घर बस्ने बुबाआमाको निधारमा पनि पसिना ओभाएको छैन । खाँडादेवी गाउँपालिका–७ की सानीकान्छी दमाई ५२ वर्ष पुग्नुभयो । चार भाइ छोरा र एक बहिनी छोरीका अभिभावक उनीहरुको गुजारा गाउँमा कपडा सिलाएर बितिरहेको छ ।  

गाउँमा खेतीकिसानी गरेर गुजारा चल्न मुस्किल नै छ । घरभरी छोराछोरी हुर्किदै गर्दा दर्जी दम्पत्तिको घरमा पनि घर खर्च उकालो चढ्दै थियो । पुख्र्यौली पेशाले घर खर्च टर्दै थियो । तर मुस्किलले । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका आमाबुवा, श्रीमान श्रीमती, छोराछोरी र विवाहित महिलाको हकमा सासु ससुराले पनि यो सुविधा लिन पाउँछन् । सरकारले वैदेशिक रोजगारमा जानेका परिवारलाई क्यान्सर, मुटुको शल्यक्रिया, अल्जाइमर, मिर्गौला प्रत्यारोपण र पार्किन्सन जस्ता रोग लागेमा बोर्डबाट उपचार खर्च दिने व्यवस्था गरेको छ । 

छोरा हुर्किएपछि उनीहरुले पनि काम गरेर घर खर्च जुटाउन थालेपछि सानीकान्छी दम्पत्तिलाई केही सहज भयो । जेठा छोरा सुजन नेपाली रोजगारीका लागि साउदी जानुभयो । घर खर्च त जुट्दै थियो तर सानीकान्छी मुटुको बिरामी हुनुभयो ।

मुटुको उपचार गर्न कति खर्च लाग्ने हो भन्ने कुराले परिवारलाई सताएको थियो । तर गाउँ भएको एउटा कार्यक्रमले यो परिवारको समस्या समाधान गरिदियो ।

सुरक्षित आप्रवासन सामी परियोजनाले जिल्लाबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति र उनीहरुका परिवारलाई सूचना दिन गरेको कार्यक्रममा सानीकान्छीका छोरा पनि सहभागी थिए । 

कार्यक्रममा विदेश जानुअघि जाने व्यक्तिसँगै परिवारले ध्यान दिनुपर्ने कुरासँगै सरकारले दिने सेवा सुविधाका कुरा पनि आए । त्यसमै आयो वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई सरकारले दिने उपचार खर्चको कुरा पनि । 

सानीकान्छीका छोरा सुजन वैदैशिक रोजगारमा जाँदा श्रम स्वीकृति लिएर वैधानिक रुपमै गएकाले उहाँले उपचार खर्च पाउनुहुने भयो । सूचना केन्द्रले सुजनसँग कागजात मगाएर सहयोग गरेपछि सानीकान्छीले बोर्डबाट ५० हजार रुपैयाँ पाउनुभयो । त्यही सहयोगले अहिले सानीकान्छीको मुटुमा धड्कनलाई नियमित गर्न सहयोग गर्ने मेसिन पेशमेकर राखिएको छ ।

पाल्मो तामाङ र सानीकान्छी दमाई

खनियाँपानी–६ की पाल्मो तामाङले पनि ५० हजार रुपैयाँ उपचार खर्च पाउनुभएको छ । पाल्मो ७० वर्षकी हुनुभयो । सात सन्तानकी आमा पाल्मो थाइराइडको क्यान्सरले थलिनुभयो । उहाँका माइला छोरा वैदेशिक रोजगारीका क्रममा युएईमा भएकाले उहाँले उपचार खर्च पाउनुभएको हो ।

पाल्मोका छोरा बिदामा आउँदा सूचना केन्द्रले सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिका परिवारलाई पनि उपचार खर्च दिने जानकारी गराएको थियो । त्यही आधारमा छोराले युएईबाट कागजात पठाइदिएपछि पाल्मोले बोर्डबाट ५० हजार रुपैयाँ पाउनुभएको हो ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका सदस्यलाई सरकारले उपचार खर्च दिन्छ भन्ने न सानीकान्छीलाई थाहा थियो न पाल्मोलाई नै । ‘गाउँमा त्यो कार्यक्रम नभइदिएको भए त हामीलाई यस्तो कुरा कहाँ थाहा हुन्थ्यो र’ सानीकान्छी भन्नुहुन्छ । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका आमाबुवा, श्रीमान श्रीमती, छोराछोरी र विवाहित महिलाको हकमा सासु ससुराले पनि यो सुविधा लिन पाउँछन् । सरकारले वैदेशिक रोजगारमा जानेका परिवारलाई क्यान्सर, मुटुको शल्यक्रिया, अल्जाइमर, मिर्गौला प्रत्यारोपण र पार्किन्सन जस्ता रोग लागेमा बोर्डबाट उपचार खर्च दिने व्यवस्था गरेको छ । 

‘लागेको रोग निको पार्न त सकिँदैन तर समस्यामा परेको बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गुन लगाउने काम गर्‍यो’ पीडा लुकाएर पाल्मो थोरै हाँस्नुभयो । बोर्डले आर्थिक वर्ष २०७४/७५ मा ५५ जना परदेशीको परिवारलाई उपचार खर्च उपलब्ध गराएको छ त्यसमा रामेछापका २ जना छन् ।  

यो पनि पढ्नुहोस् । 

विदेशमा आफन्त भएका बिरामीले बोर्डबाट ५० हजार उपचार खर्च पाउने

अन्तिम अपडेट: चैत २३, २०८०

सिर्जना बस्नेत

बस्नेत मन्थली नगरपालिका अन्तर्गत आप्रवासी स्रोत केन्द्रको परामर्शकर्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया