सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त ‘गोरे’ सार्वजनिक

 जेठ ८, २०७५ मंगलबार १५:३५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ८ – ३३ किलो सुन र सनम हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेती  काठमाडौंबाट पक्राउ परेका छन् । 

विशेष अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा गोरेलाई काठमाडौं महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा नियन्त्रणमा लिएको हो । 

मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई सार्वजनिक गर्दै गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएकोे जानकारी गराएको हो ।

मन्त्रिपरिषद्को चैत २० गते बसेको बैठकले गृहमन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा संगठित अपराध निवारण ऐन २०१२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरेको थियो । सुरुमा अध्ययन अनुसन्धानका लागि ४५ दिनको समय पाएको यो समितिलाई सरकारले जेठ मसान्त सम्मको समय थप गरेको छ ।

यो टोलीले ३३ किलो सुन काण्डमा संलग्न भएका ६५ जना विरुद्ध २०७५ जेठ १९ गते मोरङ जिल्ला अदालतमा विभिन्न आपराधिक समुहको स्थापना लागायत संगठित अपराध ऐन अन्र्तगत आकर्षित हुने अभियोजन सहितको मुद्धा दर्ता गरिसकेको छ । टोलीले  अनुसन्धानको दायरामा राखेकाका बारेमा पनि प्रारम्भिक सोधपुछका क्रममा गोरेबाट थप तथ्य र सूचना प्राप्त भएको जानकारी दिएपनि समितिले ती सुचना भने सार्वजनिक गरेको छैन ।

पत्रकार सम्मेलनमा समितिका संयोजक पौडेलले अनुसन्धान अत्यन्तै जटिल र गम्भीर प्रकृतिको भएकाले विषयलाई गम्भीरतापूर्वक लिन पनि आग्रह गर्नुभयो । उहाँले गोरेलाई जतिसक्दो छिटो विराटनगर चलान गर्ने जानकारी पनि गराउनुभयो ।  

यसअघि प्रतिवादी बनाइएका यसै मुद्धाका ६५ मध्ये ३३ फरार र ३२ जनालाई अदालत समक्ष पठाइसकिएको छ । मुद्धाका मुख्य अभियुक्त मोरङ उर्लाबारी ४ घर भई काठमाडौंको गौरीघाटमा बसोबास गर्दे आएका थिए । ३३ किलो सुनकाण्डपछि उनी फरार  थिए ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया