दशैँमा पूर्णरुपमा मौसम खुल्दैन, लगातार पानी पर्ने सम्भावना पनि छैन : मौसमविद्

 असोज १६, २०७६ बिहिबार ९:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।।
जता जाऊँ उतै भन्छन् दशैँ आयो दशैँ आयो । यही आनन्दले सबै संकट बिर्सायो ।।’

पानी पनि नपर्ने र हिलो पनि नहुने मौसमका कारण बडादशैँले सबैको मन आनन्दित हुने दशैँबारे कवि लेखनाथ पौडेलले यसरी दशैँ कविता लेख्नुभएको थियो ।

खुलेको आकाश । राम्रो मौसम । लहलह फाँटैभरि झुलेका धानका बाला । आँगनभरि फुल्नै लागेका फूलका कोपिला । यस्तो वातावरणले दशैँको झल्को दिन्छ । त्यसैले दशैँलाई हिलो र वर्षा पछिको चाड पनि भन्ने भनिन्छ । तर कवितामा भने जस्तै यसपालिको दशैँ हिलोपछिको चाड बन्ला त ? यसपालिको दशैँ सुरु हुँदा पनि पानी पर्ने क्रम रोकिएको छैन ।

सामान्यतया अक्टोबर २३ तारिखदेखि नै नेपालमा मनसुनी अवधि सकिने भए पनि मनसुनी वायुले आकाश छाडेको छैन । अहिले पनि बादल मडारिएको छ, मेघ गर्जिएको छ । मनसुनी अवधि सकिए पनि नेपालबाट मनसुन नहटेकाले अझै मनसुनी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार वर्षाको सम्भावना नभए पनि दशैँ अवधिभर मौसम समामान्यतया बदली नै रहने महाशाखाको पूर्वानुमान रहेको छ । तत्काल मनसुन हट्ने संकेत छैन तर दशैँमा ठूलो वर्षा हुने सम्भावना पनि छैन । मौसमविद् वरुण पौडेलले भन्नुभयो, ‘मनसुनी गतिविधि विस्तारै निष्क्रिय बन्दै गइरहेको छ तर पनि मनसुन बाहिरिँदा जुन गतिविधि हुनुपर्ने हो त्यो अहिले देखिएको छैन, यसले गर्दा पनि मनसुन अझै केही लम्बिने देखिएको छ ।’

केही दिन अघि सक्रिय भएको मनसुनी गतिविमिा विस्तारै सुधार भइरहेको छ । मनसुन बाहिरिने समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ । तर अहिले मनसुनी वायु नै सक्रिय छ ।

मौसमविद् पौडेलका अनुसार दशैँमा पनि छिटफुट वर्षाको सम्भावना कायमै रहन्छ । तर, दशैँको टीकासम्मै ठूलो वर्षाको भने सम्भावना छैन । केही समय क्षणिक वर्षा भए पनि तत्काल नै मौसम सफा भइहाल्ने महाशाखाको अनुमान छ । मौसमविद् पौडेलले भन्नुभयो ‘हाम्रो सिस्टम दशैँ अवधिमा सामान्य बादल लागेर छिटफुट वर्षा भए पनि दिनभर पानीमा बिझ्नुपर्ला कि भनेर चिन्ता नलिए हुन्छ ।’

अहिले काठमाण्डाै उपत्यकासहित पूर्वी र मध्य क्षेत्रको आकाशमा सामान्य बादल लागेको छ । बिहीबार दिउँसो र बेलूकीतिर हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया