दशैँको असन बजार : ‘सडकको व्यापारले पसल सुकायो’

 असोज १६, २०७६ बिहिबार १०:३७:१६ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं - काठमाण्डौको असन बजार यसै पनि घुईंचो हुन्छ । झन् दशैँ भित्रिएसँगै त्यहाँ भीड नहुने कुरै भएन । दशैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या दिनहुँ बढ्दै जाँदा त्यस क्षेत्रमा किनमेलका लागि जाने ग्राहक पनि उत्तिकै छन् । तर व्यापारीले भने पहिलेजस्तो व्यापार नभएको गुनासो गरेका छन् ।

न्यूरोड गेट नजिकै जुत्ता पसल चलाउँदै आएकी नुवाकोटकी लक्ष्मी पराजुलीले पोहोरको वर्षभन्दा कमैको जुत्ता बिक्री भएको बताउनुभयो । उहाँको पसलमा ग्राहकको चाप पनि उतिसारो देखिन्नथ्यो । 

सडकमै सामान बेच्न राख्दा ग्राहकहरु आफ्नो पसलमा कम आएको भन्दै जथाभावी सामान बेच्न दिँदा आफूहरुलाई अप्ठ्यारो परेको उहाँले गुनासो गर्नुभयो । उहाँ मात्रै होइन त्यस क्षेत्रका अधिकांस पसलहरुमा त्यति चाप देखिंदैन । तर सडक छेउछाउ राखिएका सामान किन्न भने मान्छेको भीड नै लागेको छ ।  

डोटीका उमेश चन्द काठमाण्डौबाट घर जाँदा प्रायः असनमै पुगेर सामान खरिद गर्नुहुन्छ । साँझको बसमा घर फर्कने तयारीमा रहेका उमेश सामान किन्न हतारमा देखिनुहुन्थ्यो ।  

भाइबहिनी र आमा, बुवाका लागि एक÷एक जोर कपडा किन्न पसल छिरेका उमेश कपडाको मूल्य सुनेर किन्दै नकिनी फर्कनु भयो । उहाँ पनि सडकमै बेच्न राखिएको ठाउँबाट कपडा किनेर हतार हतार बसपार्क दौडनुभयो ।  

उज्यालोसँग कुरा गर्दै उहाँले पसलमा सजाएर राखिएको लत्ताकपडाको मूल्य निकै धेरै भनेकाले किन्नै मुश्किल परेको बताउनुभयो । बरु सडकमै बेच्न राखिएको कपडा केही सस्तोमा पाएकाले आफूले त्यहीँबाट उठाएको पनि उहाँले सुनाउनु भ्याउनुभयो । अहिले लत्ताकपडादेखि हरेक सामानको मूल्य बढेको छ । 

काठमाण्डौको मूलपानीकी अन्जु उप्रेती पनि दशैँको सामान किनमेल गर्दै गर्दा असन बजारमा भेटिनुभयो । आफूले खोजेका सामान सुपथ मूल्यमा पाइने भएकाले प्रायः सधैँको दशैँको उहाँको किनमेल असन बजारमै हुन्छ । तर यो वर्ष भने उहाँले अघिल्लो वर्षको जस्तो अनुभव गर्न पाउनुभएन । 

‘पोहोर सालको भन्दा धेरै नै महंगो भएको रहेछ । अघिल्लो वर्ष दुई हजार भनेको सामानको अहिले अढाई हजार रुपैयाँ पुगिसकेछ’, हातमा भएको सामानको झोला देखाउँदै उहाँले भन्नुभयो, ‘यस्तै कुर्थाको अघिल्लो वर्ष दुई हजार रुपैयाँ परेको थियो, आज पाँचसय रुपैयाँ बढी हालेर किन्नुपर्यो ।’ उहाँजस्तै धेरै ग्राहकको गुनासो उस्तै छ । सजिसजाउ गरेर राखिएका पसलमा सामानको भाउ निकै महंगो भएको ग्राहकहरु बताउँछन् ।  

झण्डै १० वर्षदेखि असनमा कपडाको व्यापार गर्दै आएका सर्लाहीका रामविनेस महतोका अनुसार यसपटक पोहोरको जस्तो पसलमा सामान किन्न आउनेको भीड छैन । खिचापोखरी, सुन्धारा क्षेत्रदेखि नै सडकमा सामान राखेर बिक्री गर्दा आफूहरुको पसलसम्म ग्राहक आइनपुगेको उहाँ बताउनुहुन्छ । यसरी जथाभावी सामान राखेर बेच्न दिँदा आफूहरुलाई भाडामा लिएर पसल चलाउन हम्मेहम्मे परेको पनि महतोले सुनाउनुभयो । 

सडकले तान्यो पसलको ग्राहक 

उसै त असनको साँघुरो गल्ली । त्यसमा पनि दुबैतर्फ सडक पेटीमै लत्ताकपडा, जुत्ता चप्पल जस्ता विभिन्न सामान बिक्रीका लागि राखिदा आवतजावतमै अप्ठ्यारो भएको छ । विभिन्न प्रयोजनका लागि त्यो गल्ली हुँदै आउजाउ गर्नेहरु ठेलमठेल नगरी हिँड्नै सक्दैनन् । 

सडकमै राखेर सामान बेचिरहेकाहरुले ६ सयमा तीन वटा, ५ सयमा २ वटा भन्दै सामान खरिद गर्न आउनेहरुलाई भनिरहेका थिए । हेर्दा राम्रै देखिने कपडा सस्तोमा पाएपछि किन्नेहरुको भीड पनि सडकमै सामान बेच्न राखिएका ठाउँतिर बढी छ । 

ललितपुरको कोन्ज्योस्योम गाउँपालिकाबाट आउनुभएकी सविता तामाङले पनि त्यहीँबाट ३ वटा कुर्था किन्नुभयो । ‘अहिले निकै सजिलो भएको छ’ उहाँले भन्नुभयो, ‘गाडी चढ्ने ठाउँमै सडकमा राखिएका सामान ग्राहकले छानी छानी किन्न पाएका छन् ।’ 

दिउँसो खिचापोखरी पुग्दा युनिक फेसन स्टोरका संचालक दिनेस थापा ग्राहक कुरेर बसिरहनु भएको थियो । दशैँका बेला चीन तथा भारतबाट मगाइएका थरिथरिका लत्ताकपडा उनको पसलमा सजाइएको छ । 

‘सामान बिक्री होला भनेर धेरै नै मगाईयो’, उहाँले भन्नुभयो ‘तर आजको दिनसम्म पनि किन्नेहरु नआउँदा यसै थन्किने हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।’

लहरै रहेका त्यस क्षेत्रका धेरैजसो पसलेहरुले ग्राहक कुरेर बसिरहेका देखिन्थे । जथाभावी सडकमा व्यापार गर्न दिँदा आफूहरुको पसल सुकेको उनीहरुको गुनासो छ । उनीहरु भन्दै थिए ‘सडकको व्यापारले पसल सुकायो अब कसरी दशैँ मनाउने ?’ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • Mauri bahadur

    Oct. 3, 2019, 10:44 a.m.

    राम्रो भएछ नि ...पसलमा ४५०० भन्ने सामान बाहिर १३०० मै पाइन्छ / पहिले पसलेले ठग्ने काम कम गर, अनि ग्राहक आफै आउँछ किन्न / दशैँ भन्दै मनपरी मूल्यवृद्धि गर्दा यस्तै हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया