नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न माग

 असोज १६, २०७६ बिहिबार १६:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गर्नुभएको छ । 

उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि अघि सार्नुभयो । बुधबार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अध्यक्षात्मक प्रणालीमा अघि बढेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचित हुनुपर्ने उहाँको भनाइ थियो ।

महासंघका वस्तुगत संघतर्फका उपाध्यक्ष उमेशलाल प्रधानले पनि महासंघको विधान संशोधन गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले महासंघका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानमा रहेको प्रावधान महासंघका नेताहरु कसैलाई पनि मान्य नहुने दावी पनि गर्नुभयो ।

महासंघका पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि महासंघको विधान संशोधन गर्न माग गर्नुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघलाई मुलुकको आर्थिक क्षेत्रको रुपान्तरण गर्न सक्ने सशक्त र सबल बनाउन पनि महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नु पर्ने बताउनु भयो ।

महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति बनाएको छ । त्यसै समितिले बनाएको मस्यौदा आउँदाे कार्तिक २८ गते बस्ने महासंघको विशेष साधारण सभाले पारित गर्नेछ ।

महासंघका नेताहरुले विधानमा उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हटाउन विधान मस्यौदा समितिलाई पनि दबाब दिन सुरु गरेका छन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया