भारत–पाकिस्तानबीच परमाणु युद्ध भए एक हप्तामै १२ करोड बढीको ज्यान जान सक्छ : अध्ययन

 असोज १६, २०७६ बिहिबार १९:३:९ | एजेन्सी
unn.prixa.net

भारत र पाकिस्तानबीच यदि परमाणु युद्ध भयो भने एक हप्ताभित्र कम्तीमा ५० लाखदेखि १२ कराेड ५० लाख मानिसको ज्यान जान सक्छ । एक अध्ययनमा यो कुरा बताइएको हो । 

अध्ययनका अनुसार भारत–पाकिस्तान परमाणु युद्धको स्थितिमा ज्यान गुमाउने मानिसको संख्या दोस्रो विश्व युद्धमा ज्यान गुमाउने भन्दा धेरै हुनेछ । 

कोलोराडो बोल्डर विश्वविद्यालय र रुतगेर्स विश्वविद्यालयका विश्लेषकको एक समूहले विश्लेषण गर्दै यदि भविष्यमा यस्तो युद्ध हुँदा यसको असर र कुप्रभाव कस्तो र के हुन्छ भनेर बताइएको छ । 

यो अध्ययन ‘साइन्स एड्भान्स’ जर्नलमा प्रकाशित भएको छ । अध्ययनमा भनिएको छ– भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर कैँयौ युद्ध भएको छ तर सन् २०२५ सम्म उनीहरुसँग कुल चार सयदेखि पाँच सयसम्म परमाणु हतियार हुनेछ । 

यी दुई देशबीच युद्ध हुँदा पृथ्वीमा आउने सूर्यको किरणमा २० देखि ३५ प्रतिशतसम्म कमी आउनेछ र पृथ्वीकाे तापमान दुईदेखि पाँच डिग्री सेल्सियससम्म कम हुनेछ । यो युद्धको प्रभावमा एक हप्ताभित्रको समयमा ५० लाखदेखि १२ कराेड ५० लाख मानिसको ज्यान जान सक्छ ।  

यसका साथै यो युद्धको प्रभावमा विश्वभरि फैलने भोकमरी जस्ता अन्य कारणबाट मृतकको संख्या अझ बढ्न सक्छ । 

यी दुई देशबीच परमाणु युद्ध भयो भने विश्वमा हुने वर्षामा १५ देखि ३० प्रतिशतसम्म कमी आउन सक्ने र विभिन्न क्षेत्रमा व्यापक प्रभाव पर्ने अध्ययनले बताएकाे छ ।

यतिमात्र नभइ पृथ्वीमा भएको रुखबिरुवामा पनि १५ देखि ३० प्रतिशतसम्म कमी आउन सक्छ । त्यस्तै समुद्री जीवमा पनि पाँचदेखि १५ प्रतिशतसम्म कमी हुन सक्ने अध्ययनले बताएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया