त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस, एक नम्बरमा डाक्टर कोइराला

 असोज १७, २०७६ शुक्रबार १२:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टर भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ ।

१९ औँ उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले पहिलो नम्बरमा डाक्टर भगवान कोइराला, दोस्रोमा डाक्टर धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो । डाक्टर कोइराला वरिष्ठ हृदय रोग विशेषज्ञ हुनुहुन्छ । उहाँलाई यसअघि पनि त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नका लागि सरकारले आग्रह गरेको थियो ।

त्यस्तै वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर धर्मकान्त बास्कोटा भर्खरै मात्रै नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकाश प्राप्त गर्नु भएको छ । उहाँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्छ ।

त्यस्तै सिफारिसको तेस्रो नम्बरमा पर्नु भएका डाक्टर चन्द्रमणि पौडेल तथ्यांकशास्त्रका प्राध्यापक हुनुहुन्छ । उहाँले भारतको पञ्जाब विश्वविद्यालयबाट तथ्यांकशास्त्रअन्तर्गत ‘इकोनोमेट्रिक्स’ मा विद्यावारिधि गर्नु भएको छ । उहाँ यसअघि चार वर्ष त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसक्नु भएको छ ।

समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एक जना चयन गर्ने व्यवस्था छ । तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एंव शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

तर, समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसकेपछि रेक्टर प्राध्यापक डा सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया