वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
बैतडी - बैतडीमा अन्य जिल्लाहरुमा भन्दा फरक तरीकाले दशैँ मनाइने परम्परा छ ।
दशैँको पहिलो दिन घटस्थापनासँगै विभिन्न शाक्तिपीठहरुमा सामूहिक पूजाआजाको लागि भक्तजनहरुकाे घुइँचाे लाग्छ । देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन भए पनि बैतडीमा भने मन्दिरहरुमा सामूहिक रुपमा जमरा राख्ने चलन रहिआएको छ ।
यसपाला पनि त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी तथा मेलौली भगवती मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, केदारलगायतका मन्दिरहरुमा पनि सामूहिक रुपमा जमरा राखिएको छ । दशैँ सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रहिआएको सुर्नया गाउँपालिका-६ का हरिदत्त अवस्थीले बताउनुभयो ।
यसरी मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि चलिआएको र यसले सामाजिक सद्भाव बढाउन सहयोग पुर्याउने निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टले जानकारी दिनुभयो । सामूहिक रुपमा जमरा राख्ने चलनले समाजलाई एक ठाँउमा जोडेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिनुभयो ।
बडादशैँको अवसरमा नवरात्री उपसना गरेर पूजाआजा गर्ने चलन रहिआएको छ । नवरात्रीमा शक्तिपीठहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको कारण सामूहिक पूजाआजा गरिने प्रचलन चलेकाे हाे । दशैँको समयमा सामूहिक पूजापाठ गरिने र परिवारजनसँग पनि भेट हुने भएकाले घर बाहिर भएका, बसाइसराइ गरेर गएकाहरु पनि घर फर्कने गरेका छन् ।
यसरी विभिन्न कारणले गाउँ घरबाट टाढा गएकाहरु सम्झेर आउँदा गाउँघर नै रमाइलो हुने गरेको दशरथचन्द नगरपालिका-३ का धनबहादुर क्षेत्रीले बताउनुभयो ।
घटस्थापनाको दिनदेखि बडादशैँको दिनसम्म नवरात्री उपवास बसेर बडादशैँको दिन मन्दिरमा गएर पुजारीबाट सामूहिक रुपमा जमरा र प्रसाद ग्रहण गरेपछि औपचारिक रुपमा दशैँ समाप्त हुन्छ।
तर पछिल्लो समयमा भने नयाँ पुस्ताले यी कुराहरुमा ध्यान नदिँदा परम्परागत संस्कृति लोप हुने चिन्ता रहेकाे स्थानीयहरु बताउँछन् ।