थाइल्याण्ड : एक अर्कालाई बचाउने क्रममा ६ ओटा हात्ती झरनामा खसेर मरे

 असोज १९, २०७६ आइतबार ९:३:४३ | एजेन्सी
unn.prixa.net

थाइल्याण्डमा एकअर्कालाई बचाउने क्रममा ६ ओटा हात्तीको झरनाबाट खसेर मरेका छन् । 

थाइल्याण्डको खाओ याई नेशनल पार्कमा यो घटना घटेको हो । सबैभन्दा पहिले हात्तीको समूहको एउटा छावा झरनाबाट खसेको थियो र उसलाई बचाउने कोसिस गर्दा अरु पाँच ओटा हात्ती पनि खस्न पुगे । 

त्यस्तै दुई ओटा अन्य हात्ती नजिकैको चट्टानमा फसेका थिए, जसलाई प्रशासनले डोरीको मद्दतमा सफलतापूर्वका बाहिर निकालेको छ । जुन झरनामा यो घटना घट्यो, त्यसलाई स्थानीय भाषामा ‘नरकको झरना’ भनिन्छ र यसअघि पनि यहाँ यस्ता घटना हुँदै आएका छन् ।   

सन् १९९२ मा आठ ओटा हात्तीको एक समूह यही स्थानमा समाप्त भएका थिए । त्यस समयमा पनि पूरै देशमा यो बारेमा चर्चा भएको थियो । 

थाइल्याण्डको राष्ट्रिय उद्दान, वन्यजीवन र वन संरक्षण विभागका अनुसार शनिबार स्थानीय समयअनुसार दिउँसो तीन बजे हात्तीको एउटा समूह झरना नजिकको सडक छेकेर जम्मा भएका थिए । 

त्यसको तीन घण्टापछि तीन वर्षको हात्तीको एउटा छावा झरनाको किनारमा मृत अवस्थामा भेटिएको थियो । अन्य पाँच ओटा हात्ती पनि मृत अवस्थामा त्यही नजिएको भेटिएको थियो । 

नेशनल पार्कका प्रमुखले घटनास्थलमा बचाइएको दुई ओटा हात्तीमाथि ध्यान राखिरहेको बीबीसीलाई बताएका छन् । 

वाइल्डलाइफ फ्रेण्ड्स फाउण्डेशन थाइल्याण्डका संस्थापक एडविन वीकले ती दुई ओटा हात्ती जीवित रहन मुश्किल रहेको बताएका छन् । किनकि हात्ती सुरक्षा र भोजनको लागि आफ्नो ठूलो समूहमा निर्भर रहन्छ । 

यो घटनापछि बचेका हात्तीलाई भावनात्मक चोट पुग्नसक्ने जनाइएको छ । हात्ती यस्तो जनावर हो, जसले दुःखको भाव जनाएको पनि देखिँदै आइएको छ । 
एडविनले भने, ‘बचेका हात्तीको अघि आफ्नै परिवारको सदस्य गुमाएको जस्तै स्थिति सिर्जित हुन्छ । तर तपाईँ यसमा केही गर्न सक्नुहुँदैन । दुर्भाग्यवश यो प्रकृतिको खेल हो ।’

थाइल्याण्डमा झण्डै सात हजार एसियाली हात्ती छन्, जसमध्ये आधाभन्दा कम वनमा खुलारूपमा रहँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया