टी-२० सिरिज: घरेलु टाेली ओमानकाे दाेस्राे जित, आयरल्याण्ड ४३ रनले पराजित

 असोज १९, २०७६ आइतबार १५:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

टेस्ट मान्यता राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली ओमान ४३ रनले विजयी भएको छ । १७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६.२ ओभरमा १३० रनमा अल आउट भयाे ।

आयरल्याण्डका लागि केभिन ओब्राइनले ३९ रन बनाउँदा एन्डि बालबर्नीले १९ रनको योगदान गरे । मार्क आदिर १८ तथा ह्यारि टेक्टरले १२ रन जोडेका थिए । घरेलु टोली ओमानलाई जित दिलाउन खबर अली र मोहमद नादिमले तीन तीन विकेट लिँदा बिलाल खान र अमिर कलिमले दुई दुई विकेट लिए ।

ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टाेलीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुरुवात राम्रो नगरे पनि ओमानका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गर्न सफल भए ।

खाता खोल्न नपाउँदै ओपनर खबर अली आउट भएपछि ओमानले शून्य रनमा नै पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि जतिन्दर सिंह र अकीब लियासले पनि खासै राम्रो साझेदारी गर्न सकेनन् । अकीब २१ रनमा पेभेलियन फर्किए ।

त्यसलगत्तै कप्तान जीसान मक्सुदपनि सात रनमा आउट भएपछि ओमानले ४४ रनमा तीन विकेट गुमायो । तर त्यसपछि जतिन्दर र आमिर कालिमले ८३ रनको साझेदारी गरेपछि ओमानको पारी सम्हालिएको थियो । तर जतिन्दर ४० रनमा आउट हुँदा ओमानले एक सय २७ रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसको लगत्तै आमिर कालिम व्यक्तिगत ४६ रनमा पेभेलियन फर्किए । जसका कारण ओमानले एक सय ४० रनमा पाँचौ विकेट खेर फाल्यो । लगत्तै खुराम नवाज खाता खोल्न नपाउँदै आउट भए । ओमानका पुछारका खेलाडी सस्तैमा आउट हुन पुगे । बलिङमा आयरल्याण्डका स्टुवार्ट थोमसनले दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया