कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधिले दशैँ भत्ता लिए: उपप्रमुख गुप्ताको भने ‘नोट अफ डिसेन्ट’

 असोज १९, २०७६ आइतबार २०:११:४५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तु नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले दशैं भत्ता लिने निर्णय गरेका छन् ।

कर्मचारीहरुले १ महिना बराबरको तलब दशैं खर्च वापत पाउने सरकारी नियम भए जस्तै नगरपालिका प्रतिनिधिहरुले पनि कार्यपालिका बैठकमा निर्णय गरी भत्ता लिने निर्णय गरेका हुन् ।

नगर कार्यपालिकाको यस्तो निर्णयप्रति नगर उपप्रमुख लक्ष्मी देवी गुप्ताले भने असहमति जनाउनुभएकाे छ । नगर क्षेत्रका जनताको करबाट उठेको रकम कर्मचारी सरह दशैं भत्ता लिन नहुने उहाँकाे भनाइ थियाे ।

कार्यपालिकाको निर्णय प्रति आपत्ति जनाउँदै उपप्रमुख गुप्ताले भन्नुभयाे, ‘प्रतिनिधिले पनि कर्मचारी सरह दशैं खर्च लिनु नगरवासीको अपेक्षा विपरीत हो, म त दशैं खर्च लिन्न । त्यसकारण निर्णय पुस्तिकामा मैले लिखित असहमति जनाएकी छु ।’

तौलिहवा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सन्तोष कुमार कसौधनले नगर क्षेत्रको विकासमा ध्यान दिन छोडेर आफ्ना सेवा सुविधा बढाउनतिर मात्रै जन प्रतिनिधिहरु लागेको आरोप लगाउनुभयाे । जनतालाई कर माथि कर थप्दै गर्ने र आफ्नो सुविधा मात्रै बढाउने पद्धतिबाट नगरको विकास हुन नसक्ने उहाँकाे भनाइ थियाे।

उता वास्तविक कर्मचारीहरु भने दशैं खर्च पाउनबाट वञ्चित भएका छन् । नगरपालिका अन्तरगतका १२ वटा वडामा कार्यरत सामाजिक परिचालकहरुलाई भने नगरपालिकाले दशैं खर्च उपलब्ध गराएको छैन । श्रम ऐनमा उल्लेख भएको मापदण्ड अनुसार तलब समेत उनीहरुलाई दिईएको छैन । मासिक १२ हजार रुपैयामा उनीहरु कार्यरत छन् । सामाजिक परिचालकहरुका लागि दशैं खर्च दिने, उनीहरुको सेवा सुविधा बढाउने तर्फ भने नगर कार्यपालिकाको ध्यान पुग्न नसकेको एक सामाजिक परिचालकले जनाए ।

अन्तिम अपडेट: चैत ७, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया