बुंगल नगरपालिकाको  केन्द्रसम्बन्धी विवाद झन चर्कियाे, स्थानीय आन्दोलित

 असार ३१, २०७५ आइतबार १९:४६:४१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बुंगल नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा स्थानीयहरु र जनप्रतिनिधिबीचकाे विवाद अझै चुलिएकाे छ । 

शनिबार स्थानीयहरुले जनप्रतिनिधिहरुलाई आक्रमण गर्न खोज्दा प्रहरी र स्थानीयबीच झडप हुँदा ५ जना स्थानीय २ जना प्रहरी गरी ७ जना घाईते भएका थिए । 

नगर परिषद्ले वडा नम्बर ५ मा नगरपालिकाको भवन बनाउने भन्ने निर्णय सर्वसम्मत गरेपछि स्थानीयहरुले वडा नम्बर ४ को विजगडामा नै भवन बन्नुपर्ने भन्दै नारा जुलुुससहित आइतबार विजगडाको बजार र सडक समेत बन्द गरेका छन् ।  

जनप्रतिनिधिहरुले मनोमानी ढंगले निर्णय गरेको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । 

शनिबार स्थानीय बासिन्दाले नगपरिषद्ले गरेको निर्णय समेत च्यातिदिएका थिए । 

जनताको आकंक्षा विपरित  काम भैरहेको भन्दै स्थानीयहरु आन्दोलित भएको स्थानीय बासिन्दा सुरेश धामीले बताउनुभयो ।

आफ्ना माग पूरा नभए जस्तोसुकै आन्दोलन गर्न पनि आफूहरु तयार रहेको स्थानीयले बताए ।

बागथलादेखि विजगडासम्मको शाखा सडकमा यहाँका स्थानीयहरुले ठाँउ ठाँउमा ढुङ्गा तथन काठ फालेर अवरुद्ध गरेका छन् । त्यसैगरी बुंगल नगरपालिकाका मेयर धन बहादुर बिष्टको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । 

केही स्थानीयले झापामा केन्द्र सार्नुपर्ने माग गरिरहेका र केहीले विजगडामा नै यथावत हुनुपर्ने भन्दै आएका थिए ।

तर शनिबार दिउँसो बसेकोे नगर सभाबाट विजगडा र झापाको बीचमा रहेको हाटकोटमा सार्ने सर्वसम्मत निर्णय भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।

‘नगरपालिकाको कार्यालय नसार्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि यस्तो अवस्था आएको हो’, स्थानीय अक्कल कुँवरले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता प्रताप गुरुधामीका अन्सार भौगोलिक हिसाबले साबिकको कफलसेरी गाविस, पिपलकोट गाबिस , देउलीकोट र खिरातडी दहबगरलाई हेर्ने हो भने सबैलाई उपयुक्त हुने स्थान हाटकोट हो ।

विवादले मानवीय क्षति नहोस् भन्नका लागि बुंगल नगरपालिकामा प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया