वडाध्यक्षले ‘डुम’ भन्दै कुटे: प्रहरीमा उजुरी दिएपछि मिलापत्र गर्न चर्काे दबाब !

 असोज २०, २०७६ सोमबार १२:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

वडाध्यक्ष लालबहादुर बुढाथोकी

रुकुम - रुकुमको चौरजहारी नगरपालिका-३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले एक दलित युवालाई जातीय गालीगलौज ‘डुम’ भन्दै कुटपिट गरेका छन् ।

सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले रुकुमकै स्थानीय गोविन्द विकमाथि कुटपिट गरेका हुन् ।

 ‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियाे । मैले हामी पनि समितिमै बस्छु भनेपछि ‘डुम’ भन्दै कुटपिट गरे’, विकले भन्नुभयो, ‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै कुट्दै बाहिर ल्याएर जातीय गालीगलौज पनि गरेपछि उजुरी गरेको हुँ ।’

घटना असोज ५ गतेको भए पनि उजुरी परेपछि मात्रै बाहिर आएको हो ।

प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको पनि उहाँले बताउनुभयो । स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकको गुनासो छ । तर आफूले न्याय मागेको भन्दै उहाँले कुटपिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

घटना यस्ताे थियो  

रुकुमको सामुदायिक वनलाई जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा विवाद रहेकाले वन दर्ताका लागि समिति बनाउनुपर्ने थियाे । यसका लागि केही स्थानीयलाई जिल्ला वन कार्यालयले बोलाएर परामर्श गर्‍यो जसमा गोविन्द विक पनि सहभागी थिए ।

तर आफूसँग सल्लाह नै नगरी जिल्ला वन कार्यालयमा गएर छलफल गर्ने भन्दै वडाध्यक्ष बुढाथोकी रिसाए ।

उनले यस विषयमा छलफल गर्न वडाकार्यालयमा कांग्रेसका स्थानीय नेता चुडामणि पौडेल, नेकपाका नेता अर्जुन कुमाल र गोविन्द विकलाई समेत बोलाए । तर छलफल गर्न बोलाएका वडाध्यक्ष बुढाथोकीले जंगिँदै विकलाई ‘डुम’ मात्रै भनेनन् । गालामा चड्कन लगाएर कार्यालयभित्रबाट एकहोरो कुट्दै बाहिरसम्मै हुत्याए ।

वडाध्यक्ष बुढाथोकीको कुटपिट र जातीय गलौज ठिक नभएको भन्दै सँगै रहेका कुमाल र पौडेलले पनि विरोध गरे । तर प्रहरीमा उजुरी दिनुको साटो गाउँमै मिलापत्र गर्न चौतर्फी दबाब बढ्यो ।आफुमाथि कुटपिट र जातीय विभेद भएको दुई हप्ता बिते पनि सुनुवाइका लागि कुनै पहल नभएपछि विकले आइतबार इलाका प्रहरी कार्यालय चौरजहारीमा उजुरी दर्ता गर्नुभएकाे हाे ।

उजुरी आएपछि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।

फोनबाटै धम्की, मिलापत्र गर्न दबाब !

कुटपिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्की दिइरहेका विकको भनाइ छ । प्रहरीमा उजुरी दिएपछि थप कुट्ने, मार्नेसम्मको धम्की आइरहेको विकले बताउनुभयो ।

गाउँकै केही स्थानीय नेताले पनि प्रहरीको साटो गाउँमै मिलापत्र गर्न दबाब दिएका छन् । तर अरुका अगाडि आफूमाथि जातीय विभेदका साथै कुटपिट भएकाले न्यायका लागि लड्ने विकको भनाइ छ ।

जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया