अर्घाखाँची जीप दुर्घटना: ज्यान गुमाउनेमध्ये एक जनाकाे परिचय खुल्याे

 असोज २०, २०७६ सोमबार १६:५५:४६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँची जिल्लाको नरपानीमा साेमबार लंका यातायात प्रालिको जीप दुर्घटना हुँदा ज्यान गुमाउने तीनमध्ये एकजनाकाे परिचय खुलेकाे छ ।

ज्यान गुमाउनेमा अर्घाखाँचीको ढाकाबाङ्ग पहाड घर भएर हाल दाङकाे लमही बस्दै आएका ५० वर्षीय घनश्याम खनाल रहेकाे अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयाे । ज्यान गुमाउने अन्य एक महिला र एक पुरुषको सनाखत हुन बाँकी छ ।  

कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्बर को जीप सन्धिखर्क नगरपालिका वडा नम्बर–६ नरपानी नजिकै दुर्घटनामा परेको थियाे। नौ जना रहेकाे जीप पल्टिँदा तीन जनाको घटनास्थलमै ज्यान गएको थियाे भने ६ जना घाइते भएका थिए । 

दुर्घटनामा घाइते भएकाहरुमा  भूमिकास्थान–१०, धनचौरका उमेश रेग्मी, दाङ्ग लमही–०५ की अनिता खनाल र बिन्दु खनाल, भुमिकास्थान–१० की सिमा रेग्मी र उनका १ वर्षिया छोरा आदित्य रेग्मी तथा जीप चालक कपिलवस्तु बुद्धभूमिका विरेन्द्र श्रेष्ठ रहेका छन् । घाइतेहरु ध्ये चार जनालाई उपचारको लागि चौराह अस्पताल बुटवल पठाइएको छ भने बाँकी दुई जनाकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।

जीप ओरालो सडकमा अनियन्त्रित भएर सडकदेखि झण्डै साढे तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी ब्रेक फेल भएका कारण दुर्घटना भएको चालक विरेन्द्र श्रेष्ठले बताउनुभयाे ।

घटनाबारे सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रकाश विष्ट, शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधब रेग्मीसहितको टोली घटनस्थल पुगेकाे थियाे। 

अन्तिम अपडेट: चैत ९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया