सौराहामा विदेशी पर्यटकले मनाए दशैँ

 असोज २१, २०७६ मंगलबार १९:४८:३१ | रासस
unn.prixa.net

चितवन - तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् ।

पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् । ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोली यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिनुहुन्थ्यो । 

‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाएको छु, धन्यवाद नेपालीहरु’, उहाँले भन्नुभयो । 

अर्का पर्यटक जोसिलो कोस्टा पनि निकै हर्षित देखिनुहुन्थ्यो । उहाँले आगामी वर्ष पनि  नेपालमा आएर दशैँ मनाउने बताउनुभयो । सौराहाको सपना भिलेजले हरेक वर्ष जस्तै यो वर्ष पनि दुर्गा पूजा गर्दै पर्यटकलाई समेत दशैँ मनाउने परम्परालाई निरन्तरता दिएको सपनाका प्रबन्ध निर्देशक धु्रव गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटकलाई हाम्रो संस्कृतिसमेत पहिचान गराउनुपर्छ भनेर शुरु गरेका हौँ, दशैँँमा नेपाल घुम्न आउने पर्यटकलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहन्छौँ ।’

‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु’, विदेशी पर्यटक मेरिकोलले भन्नुभयो ।

चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन् ।

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया