वन्यजन्तुबाट पीडित ६० जनालाई राहत वितरण

 असोज २२, २०७६ बुधबार १३:४०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित भएका ६० जनालाई राहत वितरण गरेको छ ।

निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने बासिन्दाको कृषि, पशु तथा मानिसलाई क्षति गरेमा राहत दिने व्यवस्था छ । २०६९ सालदेखि राहत वितरण कार्य सुरु भएको हो । त्यससता निकुञ्जले रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका ६० जना पीडितलाई राहत वितरण गरेको जनाएको छ । 

वन्यजन्तुले क्षति गर्ने क्रम बढ्दै जाँदा निवदेन दिने पीडितको संख्या पनि बढ्दै गएको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताउनुभयो । उहाँका अनुसार १ सय २० वटा निवेदनको सम्बोधन गर्न बाँकी छ ।

वन्यजन्तुबाट पीडित भएकालाई ७ वर्षमा ६ लाख रुपयाँ राहत दिइसकेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रमा वन क्षेत्र बढ्दै जाँदा मानवबस्ती नजिकै जंगली जनावर आउने क्रम पनि बढ्दै गएको देखिन्छ ।

पछिल्लो समय ग्यास चुल्हो तथा सुधारिएको चुल्होको प्रयोग बढ्दै जाँदा दाउरा सङ्कलन गर्ने क्रम घटेको छ भने घर निर्माण गर्दा काठको विकल्पमा फलामको प्रयोग गर्ने क्रम बढेको देखिन्छ । जसका कारण अहिले निकुञ्जमा जंगल बढेको छ ।

मानव वन्यजन्तु बीचको सहअस्थित्व कायम गर्नका लागि निकुञ्जले विभिन्न योजना अघि सारिएको उहाँले बताउनुभयो । धेरैजसो जंगली बदेलले बाली क्षति गरेको निवेदन आएको छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गर्ने काम भइरहेको छ ।

हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बदेल, ध्वासे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरीगाई र अजिंगरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया