प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराई भन्नुहुन्छ : चिनियाँ राष्ट्रपतिको भ्रमणमा रेल सेवा विस्तारको सम्झौता पक्का

 असोज २२, २०७६ बुधबार १५:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई देशबीचको विश्वासको वातावरणलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने पनि बताउनुभयो । चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आउँदो शनिबार र आइतबार हुँदैछ ।

यही विषयमा केन्द्रित भएर बुधबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाइन विस्तारलगायतका कनेक्टिभीटीको क्षेत्र नयाँ आयाम थपिने पनि बताउनु भयो । उहाँले राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताबाट दुई देशबीचको समस्यारहित सम्बन्धले फड्को मार्ने पनि बताउनुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले देशको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताउनुभयो । चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा हुँदै आएको सहयोगमा पनि भारी वृद्धि हुने उहाँको विश्वास छ ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सीको भ्रमणको स्वागत गर्दै देशको आवश्यक्तालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिनुभयो । नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एशीयाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने पनि उहाँको भनाइ छ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुन लागेको हो । राष्ट्रपति विद्या भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गर्ने सरकारको तयारी छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

1 Comments

  • गणेश राज चापागाई

    Oct. 10, 2019, 4:17 a.m.

    कचौरी थाप्दा फुलवुट्टा भरेर हैन फाइदा देखाएर माग, सित्तैमा दिने कुराको वारेमा सोच्न पर्दैन नसोचेभन्दा धेरै सहयोग आउछ। थेग्ने ठाउ र सोच नभएर फिर्ता दिन पर्ने छ पैसा २५ वर्षसम्मको लागि लगानि आउछ

  •  0 Reply

तपाईको प्रतिक्रिया