बाटो नखुल्दा स्याउ ढुवानीमा समस्या, खच्चर र मान्छेले नै बोक्नुपर्ने बाध्यता

 असोज २२, २०७६ बुधबार २०:३:४९ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुरा जिल्लाबाट पहिलो पटक ब्राण्डसहितको स्याउ बजारमा जान थालेको छ । सरकारले ढुवानीमा अनुदान दिएपछि ढुवानीमा सहज भएको छ । तर यातायातको समस्याले भने स्याउ जिल्ला बाहिर पठाउन कठिन भैरहेको छ । 

जिल्लामा २ सय ३० हेक्टरमा स्याउ खेती गरिएको छ । गएको वर्ष बाजुरामा एक हजार ५० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष बढी क्षेत्रफलमा स्याउ लगाइएकाले उत्पादनमा वृद्धि हुने अनुमान छ ।

स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका किसानका स्याउ बारीमै कुहिने अस्थामा आएपछि यस वर्ष कृषि ज्ञान केन्द्र बाजुराले ६ सय क्वीन्टल ढुवानी अनुदानमार्फत बजारसम्म पुर्याउने उद्धेश्य राखेको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले बताउनुभयो ।

 

जैसीका अनुसार ‘जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ । मार्तडी–कोल्टी सडक सञ्चालन नभएकाले ढुवानीमा समस्या भएको छ।’

‘अहिले गाउँमा स्याउ भण्डार गर्ने र ग्रेडिङ गर्ने काम धमाधम सञ्चालनमा आएको छ । बोटमा एक रुपैयाँको तीन दाना स्याउ दिने गरेका थियौँ यस वर्ष बोटमै केजीको १५ रुपैयाँका दरले बिक्रि गर्न पाएका छौँ ।’ स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्र बहादुर शाहीले बताउनुभयो । उहाँको बारीमा १२ सय बोट स्याउ छन् । उहाँले स्याउखेती गर्न थाल्नुभएको १५ वर्ष भयो । पहिलो पटक उहाँले स्याउ बिक्री गर्न लाग्नुभएको हो । 

जुकटका कृषक गजुरु सिंहले भन्नुभयो ‘गएका वर्षहरुमा स्याउ बिक्री नहुँदा हामीले स्याउका पुराना बगैँचा फाडेका थियौँ । लाखौँ मूल्यको स्याउ खेर जाने गरेको थियो स्याउ कुहिएर गाई गोरुलाई खुवाउनुको विकल्प थिएन ।’ गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ । 

गाउँका अधिकांश किसानले स्याउ खेती गरेका छन् । प्रत्येक परिवारको बारीमा तीन सयभन्दा बढी स्याउका बोट छन् । स्वामीकार्तिक खापर गाउँपालिका– १, २, ३ जगन्नाथ गाउँपालिका साविकको जगन्नाथ गाविस क्षेत्र र बुढीनन्दा नगरपालिकाकाको साविकको पाण्डुसैनमा प्रशस्तै स्याउ फल्छ ।

स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाले गरेको खर्चको तथ्यांक छैन तर विश्व खाद्य कार्यक्रमलगायतका गैर सरकरी संस्था र जिल्ला कृषि विकास कार्यालयले हरेक वर्ष स्याउका विरुवा उत्पादनमा लगानी गरेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जिवी शाहीले बताउनुभयो । 

जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ । राम्रो ग्रेडको स्याउ किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ । सानो बोटमा पनि लटरम्म फल्ने गरेका स्याउको बजार छैन, गाउँमा सडक नपुग्दा किसान निराश छन्’, गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो । बजारसम्म स्याउ पुर्याउन गाउँपालिकाले कृषि ज्ञान केन्द्रसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

अनुदान पाउँदा पनि स्याउ ढुवानीमा समस्या 

स्याउले बजार नपाएपछि जिल्ला कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिएको छ । बाटो सञ्चालनमा नआएका कारण खच्चर र मान्छेमा बोकाएको स्याउ बिग्रने चिन्तामा किसान छन् ।

केन्द्रले ढुवानी अनुदानका लागि सूचना प्रकाशित गरी स्वामीकार्तिक खापर गाउँपालिकाका २ वटा सहकारीलाई जिम्मा दिएको छ । सहकारीले बारीबाट बजारसम्म पुर्‍याइदिनेछ । स्याउ बिक्री भने किसान आफैँले गर्नुपर्ने कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया