प्रिन्स दाहाल दक्षिण एशियाली यू-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपकाे उपाधि नजिक

 असोज २३, २०७६ बिहिबार १३:१८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यू– २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा उपाधि नजिक पुगेका छन् । प्रिन्सले उपाधिका लागि प्रतियोगितामा तेस्रो वरीयता प्राप्त भारतका सराथ दुन्नानको सामना गर्ने भएका छन् ।

बुधबार भएको सेमिफाइनलमा दुवई इन्टरनेशनलका विजेता प्रिन्सले प्रतियोगितामा चौथो वरीयता प्राप्त श्रीलङकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।

पुरुष एकलमै नेपाली खेलाडी प्रफुल महर्जन भने प्रतियोगिताका तेश्रो वरीयताका भारतका सराथ दुन्नानसँग क्वार्टरफाइनलमा १८–२१, २१–१४ र २०–२२ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुन पुगेका थिए ।

महिला एकलतर्फ भने नेपाली खेलाडीहरु पहिलो चरणबाटनै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । पुरुष युगला तर्फ प्रिन्स र प्रफुलको जोडी पाकिस्तानी खेलाडीहरुसँग क्वाटरफाईनलमा पराजित भएका थिए । यसैगरी महिला युगलमा रशिला महर्जन र जेशिका गुरुङ्गको जोडी भारतीय खेलाडी दीपसिखा सिंह र मानषी सिंहको जोडी सँग क्वाटरफाइनल पराजित भएका थिए ।

मिश्रित जोडीतर्फ रशिला महर्जन र प्रफुल महर्जनको जोडी भारतका सराथ दुन्ना र दीपसिखा सिंहको जोडी संग सेमिफाइनलमा १३–२१, १५–२१ ले तथा प्रिन्स दाहाल र जेशिका गुरुङ्गको जोडी भारतकै साइचरण कोया र मानषी सिंहको जोडीसँग सेमिफाइनलमै २०–२२, १७–२१ ले पराजित भए । यसका साथै नेपाली टोलीले तीन कास्य प्राप्त गर्न सफल भएको छ ।

नेपाली टोलीले मिक्स टिम ईभेन्ट्समा पनि एक कास्य पाएको थियो । नेपाल भारत संग सेमिफाईनलमा २–३ को सेटमा पराजित हुँदै कास्यमा खुम्चिएको थियो । नेपाली टोलीमा पुरुष तर्फ प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश महर्जन तथा महिला तर्फ रशिला महर्जन, जेशिका गुरुङ्ग र सिमा राजबंशी रहेका छन् । टिम ब्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाह र प्रशिक्षकमा किरण थापा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया