दीर्घकालीन हित र आवश्यकताका विषयमा चीनसँग छलफल गर्छाैँ : प्रधानमन्त्री ओली

 असोज २३, २०७६ बिहिबार १४:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिनको राजकीय भ्रमणको पूर्वसन्ध्यामा बिहीबार पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । 

छलफलमा सरकारको तर्फबाट यो भ्रमणका लागि अहिलेसम्म भएको तयारीबारे जानकारी दिइएको थियो भने सहभागी नेता एवम् विज्ञहरुले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमणलाई ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै देशको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न सुझाव दिनुभएको थियो ।

सुझाव ग्रहणपछि प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रही आएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाण्डौ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेसमेत छलफल गरिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैँ तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहान्छौँ ।

प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको पनि बताउनुभयो । विदेश तथा छिमेक मामिलासम्बन्धी नीतिमा नेपालले सन्तुलनका तीन आधार तय गरेर अघि बढेको प्रधानमन्त्रीले बताउनुभयो । ‘राष्ट्रिय हित, सम्बन्धको न्यायोचितता र अन्तर्राष्ट्रिय विश्वसनीयता हाम्रो परराष्ट्र मामिलाको सन्तुलनका आधार हुन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विदेश मामिलामा हामी अहिले इतिहासकै सबैभन्दा बढी स्पष्टताका साथ अघि बढेका छौँ, कुनै अस्पष्टता छैन ।’ 

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर भएको वताउँदै भ्रमण सफलताको कामना गर्नुभयो ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली काँगेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा सुझाव दिनु भएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया