बाढी, पहिरो र डुबानबाट भक्तपुरमा झण्डै १२ करोडको क्षति

 असार ३२, २०७५ सोमबार ६:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरमा आएको बाढी, पहिरो र डुबानका कारण ११ करोड ९३ लाख ५० हजार १२५ रुपैयाँ बराबरको क्षति भएको छ । 
आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गएको २७ र २८ गते परेको अविरल वर्षाको कारण आउको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो ।

चाँगुनारायण नगरपालिकामा पहिरोका कारण एकै परिवारका तीनजनाको ज्यान गएको, डुबानमा परेकाहरु ४ जना घाइते भएका र १११ जनाको सकुशल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । 

डुबानमा ५२२ र पहिरोमा १५ गरि ५३७ घर टहरामा क्षति पुगेको, २८ वटा उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ वटा किराना, होलसेल पसल, १ सडक, १ पुल, २ अस्पताल र २ विद्यालयमा क्षति पुर्याएको छ । बाढीले ३७ वटा बंगुर, ८२५ वटा कुखुरा बगाएको छ ।

उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करिब ३ करोड ९३ लाख ९५ हजार १२५ रुपैया, किराना, होलसेल पसलमा करिब ४ करोड, ४६ लाख १३ हजार रुपैया, अस्पतालमा ३ करोड ४० लाख १६ हजार रुपैया, मेरिगोल्ड ईङ्गलिस स्कूल् बालकोटमा ३ लाख रुपैया, चौपाया, पशुपंक्षीमा करिब १० लाख २६ हजार रुपैया बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिनुभयो । 

प्रहरी परिचालन गरी संकलन गरिएको क्षति विवरण सार्वजनिक गर्दै उहाँले सम्बन्धित नगरपालिकाहरुबाट थप क्षति विवरण माग गरिरहेको र आउन बाँकी बताउनुभयो ।

तथ्यांक अनुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करिब ३ करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करिब ६ करोड ९५ लाख १० हजार २५० रुपैयाँ, सूर्यविनायक नगरपालिका क्षेत्रमा २ करोड ७० लाख ९१ हजार रुपैयाँ र चाँगुनारायण नगरपालिकामा २३ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । चाँगुनारायण नगरपालिकाको सुडालमा २ वटा पक्की र १३ वटा कच्ची घर गसर करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

प्रजिअ भट्टका अनुसार बागिश्वरीमा ३ जना मानवीय क्षति भएको र सबभन्दा बढी भौतिक क्षति मध्यपुरथिमि क्षेत्रमा भएको अनुगमनका क्रममा पाईएको बताउनुभयो । 

भत्किएका ठाउँमा ग्याभिङ्ग पर्खाल लगाउँने, डुबान क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने। सडक सञ्चालन गर्ने लगायतका कारमका लागि सम्बिन्धत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएअनुरुप काम भईरहेको उहाँको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया