चिनियाँ राष्ट्रपति सी लाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्ने

 असोज २३, २०७६ बिहिबार १७:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाण्डाै - राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने हुनुभएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति भण्डारीकै मैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिनुभएको हो ।

‘कसले स्वागत गर्ने भन्दा राष्ट्रपति ज्यूको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउँदै हुनुहुन्छ भनेपछि उहाँले नै स्वागत गर्नुहुन्छ,’ बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यो धेरै बहसको विषय रहेन, त्यो धेरै क्युरियाेसिटीको विषय पनि भएन ।’

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताउनु भयो । त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि सञ्चारमन्त्री बाँस्कोटाको भनाइ छ ।

उहाँले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेको पनि बताउनु भयो । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई पूर्ण रुपमा सफल बनाउने, ऐतिहासिक बनाउने कुरामा हामी पूर्ण रुपले सचेत छौं,’ सञ्चारमन्त्री बाँस्कोटाको भनाइ थियो,‘दुवै देशले त्यसलाई गम्भीरतापूर्वक लिएको छ ।’

चिनियाँ राष्ट्रपति सी को यही शनिबार र आइतबार दुई दिने नेपालको राजकीय भ्रमण हुँदैछ । सञ्चारमन्त्री बाँस्कोटाले त्यस भ्रमणमा नेपालले दुई मुलुकबीचको कनेक्टिभीटीमा जोड दिने पनि बताउनु भयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया