मध्यपश्चिममा पेट्रोलियम खपत तीन गुणाले वृद्धि

 असोज २४, २०७६ शुक्रबार ६:४०:३६ | रासस
unn.prixa.net

बाँके – पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ ।

नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ९७ हजार ३९० किलोलिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन) खपत भएकोमा गत आव २०७५/७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ । जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ ।

निगमको यो तथ्याङ्कलाई आधार मान्दा पछिल्ला पाँच आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ । निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै भएको देखिन्छ । आव २०७१/७२ मा तीन हजार २३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५/७६ मा बढेर ३८ हजार ४१८ किलोलिटर पुगेको छ ।

त्यस्तै आव २०७१/७२ मा ७३ हजार १६५ किलोलिटर खपत भएको डिजल आव २०७५/७६ मा एक लाख ६५ हजार ९४७ किलोलिटर पुगेको छ । त्यस्तै आव २०७१/७२ मा तीन हजार २०० किलोलिटर खपत भएको हवाई इन्धन आव २०७५/७६ मा बढेर सात हजार ८१९ किलोलिटर हवाई इन्धन पुगेको छ ।

आव २०७१/७२ मा १७ हजार ४८४ मेट्रिक टन र आव २०७५/७६ मा ३४ हजार ८४५ मेट्रिक टन खाना पकाउने ग्यास खपत भएको नेपाल आयल निगम नेपालगञ्ज डिपोको तथ्याङ्क छ । यस अवधिमा मट्टितेलको खपत भने सुरुआतमा केही बढेको देखिए पनि पछिल्लो तीन आवमा खपत दर स्थीर रहेको छ ।

आव २०७१/७२ मा ३०९ किलोलिटर खपत भएको मट्टितेल आव २०७२/७३ मा झण्डै ६ गुणाले बढेर एक हजार ८३० किलोलिटर पुगेको छ । त्यसयता खपत दर झण्डै स्थीर छ । आव २०७३/७४ मा एक हजार ७०३ किलोलिटर, आव २०७४/७५ मा एक हजार ८८० किलोलिटर र आव २०७५/०७६ मा एक हजार ९३७ किलोलिटर खपत भएको छ ।

विगतमा भन्दा पछिल्लो समयमा मट्टितेलको खपत विस्तारै खुम्चिँदै गएको नेपाल आयल निगम नेपालगञ्ज डिपोका प्रमुख नवविनोद पोखरेलले जानकारी दिनुभयो । सडक निर्माण र अन्य विकासका गतिविधि बढेसँगै मट्टितेल खपत घट्दै गएको र अन्य पेट्रोलियम पदार्थको खपत दर बढ्दै गएको उहाँको भनाइ छ ।

‘इन्धन क्षेत्र आयातमुखी र खपत उन्मुख भएका कारण मट्टितेलबाहेक पेट्रोलियम पदार्थको वृद्धिदर उच्च भएको छ । आर्थिक गतिविधि र विकासका काम बढेका छन्, सवारी आयातमा उच्च वृद्धि भएको छ, हामीसँग भने पेट्रोलियमको कुनै स्रोत छैन । त्यसैले पनि खपत दर उच्चरूपमा बढेको छ’, डिपो प्रमुख पोखरेलले भन्नुभयो ।

पेट्रोलियमको स्रोत नभए पनि विद्युत्, वैकल्पिक ऊर्जाका स्रोतमार्फत पेट्रोलियम आयात घटाउन सकिए पनि त्यसो नहुँदा आयात बढेको उहाँको भनाइ छ । पेट्रोल र डिजलको खपत दर बढेसँगै नेपालगञ्ज डिपोमा रहेका मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल भण्डारणका लागि स्थानान्तरण गरिँदैछ ।

अहिले नेपालगञ्ज डिपोमा पेट्रोल भण्डारण क्षमता २१० किलोलिटर मात्रै छ । जुन दुई दिनका लागि मात्रै पुग्छ । मट्टितेल भण्डारण क्षमता ७६० किलोलिटर रहेको छ, जुन १२६ दिनलाई पुग्छ । त्यसैले पनि निगमलाई पेट्रोल भण्डारण क्षमता बढाउनै पर्ने बाध्यकारी अवस्था देखिएको छ ।

अहिले निगमलाई सबैभन्दा ठूलो चुनौती भण्डारणको छ । कुनै कारणले तीन/चार दिन आपूर्ति असहज भएमा त्यसको व्यवस्थापन गर्न निगमलाई धौधौ पर्छ । यही आवश्यकतालाई ध्यानमा राखेर निगमले ८० किलोलिटर मट्टितेल भण्डारण क्षमता राखेर पेट्रोल भण्डारण क्षमता ८९० किलोलिटर पुर्‍याउने भएको छ ।

‘मट्टितेललाई घटाएर पेट्रोलको भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया सुरु भइसकेको छ’, डिपो प्रमुख पोखरेलले भन्नुभयो, ‘पेट्रोल भण्डारण क्षमता विस्तार नगर्ने हो भने अहिलेको भण्डारणले माग धान्न पनि धौधौ पर्नेछ । त्यसका लागि भण्डारण क्षमता विस्तार अत्यावश्यक नै रहेको छ । त्यो प्रक्रिया सुरु भइसक्यो ।’

मट्टितेलको खपत न्यून भएपछि निगमले मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न सुरु गरिसकेको उहाँको भनाइ छ । डिपो प्रमुख पोखरेलले भन्नुभयो, ‘अब मट्टितेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि झण्डै १० दिनसम्म पुग्ने पेट्रोल भण्डारण हुनेछ ।’ मट्टितेलको माग घट्दै गएपछि मट्टितेल बोक्ने ट्याङ्कर पनि पेट्रोलमा रूपान्तरण हुनेछन् ।

निगमका अनुसार छुट्टै पेट्रोल ट्ययाङ्की राख्न धेरै रकम आवश्यक पर्ने भएपछि कम लागतमा मट्टितेल ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न लागिएको हो । पेट्रोल भण्डारण क्षमता बढेपछि उपभोक्ताका लागि अझै सहजरूपमा इन्धन आपूर्ति गर्न सकिने डिपो प्रमुख पोखरेलले बताउनुभयो ।

‘अहिले मट्टितेलभन्दा पेट्रोलको माग निकै बढ्दो क्रममा रहेको छ’, उहाँले भन्नभुयो, ‘सवारीको चापलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल भण्डारण क्षमता विस्तार सुरु गरेको हो ।’ अहिले नेपालगञ्ज डिपोमा डिजेल दुई हजार २८० किलोलिटर, हवाई इन्धन २८० किलोलिटर भण्डार गर्ने क्षमताका ट्याङ्की रहेका छन् ।

त्यस्तै बाँके र दाङ्मा ७०८ मेट्रिक टन क्षमतामा खाना पकाउने ग्यास भण्डारण हुँदै आएको छ । बाँकेका दुई वटा भेरी ग्यास उद्योगमा ५१० र मनकामना ग्यास उद्योगमा ९० मेट्रिक टन तथा दाङमा रहेको राप्ती ग्यास उद्योगमा १०८ मेट्रिक टन ग्यास भण्डारण गर्ने क्षमता रहेको निगमका नेपालगञ्ज डिपो प्रमुख पोखरेलले बताउनुभयो ।

निगमको नेपालगञ्ज डिपोको तथ्याङ्कअनुसार खाना पकाउने ग्यास बाहेक बाँकेमा ९८ र दाङमा २८ गरी १२६ जना विक्रेता रहेका छन् । त्यस्तै ५४ जना इन्धन ढुवानीकर्ता रहेका छन् भने २० किलोलिटर क्षमताका १०८ वटा र १२ किलोलिटर क्षमताका चार वटा गरी ११२ वटा ट्याङ्करले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेका छन् ।

निगमका अनुसार हवाई इन्धनका लागि २० किलोलिटर क्षमताका ९ वटा ट्याङ्कर सञ्चालनमा रहेका छन् । नेपालगञ्ज डिपोले साविकको मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा, जुम्ला र जाजरकोट गरी ११ जिल्लामा इन्धन ढुवानी गर्दै आइरहेको छ ।

निगमले वर्षात् सुरु भएसँगै बजारमा इन्धनको खपत घट्ने गरेका पनि जनाएको छ । वर्षात्मा सडक अवरुद्ध, यात्रुको आवागमन कम हुने र विकास निर्माणका काम घट्ने भएपछि इन्धन खपत घट्ने गरेको गरेको छ । खाना पकाउने ग्यासबाहेक पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको खपत वर्षात्मा घट्ने गरेको निगमको भनाइ छ ।

वर्षात्मा बजारमा माग कम भएपछि आयात पनि घट्ने गरेको निगमले जनाएको छ । यस क्षेत्रका लागि निगमले पेट्रोल, डिजल र मट्टिलेतको आयात भारतको गोण्डाबाट गर्दै आएको छ भने हवाई इन्धन इलाहावाद र खाना पकाउने ग्यास मथुराबाट आयात गर्दै आएको छ । निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी)मार्फत इन्धन आयात गर्दै आएको छ ।

अन्तिम अपडेट: असोज २६, २०७६

तपाईको प्रतिक्रिया