बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता

 असोज २४, २०७६ शुक्रबार ९:५७:१२ | रासस

सप्तरी – दशैँ मनाएर राजधानी काठमाण्डाै फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । 

इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका– ६ कडरबोनामा  रोकेर  यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीका अनुसार जाँचका क्रममा करिब २० जना यात्रुबाट बढी भाडा लिइएको  सात हजार रुपैयाँ रकम फिर्ता गराइएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कानूनबमोजिम जरिवानासमेत गरी चालक तथा सहचालकलाई सम्झाइबुझाइ गरी गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै प्रहरी निरीक्षक केशरीले त्यस्ता सवारीलाई रकम फिर्ता गराई कारबाही चालिएको र सवारी गतिसमेत चेकजाँच गर्न थालिएको बताउनुभयो ।

राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया