अनुसन्धान गर्दा पद र अनुहार नहेर्नुस्, निष्पक्ष छानबिन गर्नुस् : प्रधानमन्त्री ओली

 असोज २४, २०७६ शुक्रबार १४:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको विषयमा अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । 

६४ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि कसिमको दबाबमा नपरिकन निष्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराउनुभएको हो ।

उहाँले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारमा सहभागी सतापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म सरकारको तर्फबाट भन्न चाहन्छु । कुन पार्टी सरकारमा छ, यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन । कसले अपराध गर्‍याे, त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन । को पक्षमा छ । को विपक्षमा छ, त्यो प्रहरीले मतलब राख्नु हुँदैन । को/कुन पदमा छ , कुन ओहोदामा छ, के हैसियतको मान्छे हो ? कति सम्पत्तिवान मान्छे हो । यस्ता कुराहरुको प्रहरीलाई मतलब हुनुहुँदैन । कानुनको पालना, कार्यान्वयन र अनुहार नहेरिकन निष्पक्ष छानबिन गर्नुपर्छ । कसैको दबाब मान्नुहुँदैन ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निष्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताउनुभयो । अपराधको राजनीतिकरण गर्ने अनि राजनीतिलाई अपराधिकरण गरी निष्पक्ष अनुसन्धान गर्न व्यवधान सिर्जना गरी प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिबाट प्रहरी सधैँ सजग हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रहरी दिवस भव्य र उल्लासपूर्ण रुपमा मनाउनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवस छुट्टाछुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । उहाँले दुवै दिवस एकै दिन मनाउँदा ‘बधाइ दिने कि समवेदना’ दिने भन्ने अप्ठ्यारो स्थिति सिर्जना भएको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया