इथियोपियाका प्रधानमन्त्री अहमदलाई नोबेल शान्ति पुरस्कार

 असोज २४, २०७६ शुक्रबार १५:३४:३१ | एजेन्सी
unn.prixa.net

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रदान गरिएको छ । 

छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्‍याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबेल कमिटीले बताएको छ । 

इरिट्रिया स्वतन्त्र भैसकेको केही वर्षपछि सन् १९९८ मा दुई देशबीच युद्ध नै भएको थियो । पूर्वी अफ्रिकाका छिमेकी राष्ट्रबीच दुई दशक लामो सीमा विवाद रहँदै आएको थियो । दुई देशबीचको विवाद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका कारण उनी पुरस्कारको हकदार भएको नोबेल कमिटीले जनाएको छ । 

सत्ता सम्हालेपछि अहमदले राजनीतिमा महिलाहरुको भूमिका बढाउने पहल पनि गरेका थिए । उनले आफ्नो सरकारमा २० मन्त्री पदमध्ये आधा सिटमा महिलाहरुलाई नियुक्त गरेका थिए, जसमा देशको पहिलो महिला रक्षा मन्त्री पनि थिइन् । 

अप्रिल २०१८ मा अबी अहमद प्रधानमन्त्री बनेपछि उनले इरिट्रियासँग शान्ति वार्ता फेरि सुरु गर्ने चाहेको बताएका थिए । जुलाई २०१८ मा यी दुई देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । 

सन् २००२ मा अन्तर्राष्ट्रिय सीमा आयोगको मध्यस्थताको फैसला स्वीकार गर्नु नै उनको सफलताको एउटा महत्वपूर्ण आधार थियो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया