सी जिनपिङ आउँदा र जाँदा त्रिभुवन विमानस्थल साढे २ घण्टा बन्द हुने, कुन-कुन एअरलाइन्सका उडान प्रभावित हुँदैछन् ?

 असोज २५, २०७६ शनिबार ९:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण दुई दिन प्रभावित हुने भएको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाण्डौ अवतरण गर्ने कार्यतालिका छ । भारतको चेन्नई हुँदै काठमाण्डौ आइपुग्ने सी आइतबार १२ः३० मा स्वदेश फर्कनुहुनेछ ।

राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाण्डौमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । राष्ट्रपति सी सवार भीभीआईपी जेट विमान आउने बेला तीन घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान तथा अवतरण हुने छैनन् ।

शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टु एअरमेन) जारी गरेको छ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्छ ।

राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ । राष्ट्रपति सी आउने बेला साढे २ घण्टा र फर्कने बेला साढे २ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

राष्ट्रपति सी आउने दिन शनिबार दिउँसो २ः५५ बजेदेखि  ५ः२५ बजेसम्म नै विमानस्थलमा अन्य उडान र अवतरण ठप्प हुने छ । राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् ।

त्यस्तै फर्कने दिन आइतबार बिहान ११ः२० बजेदेखि दिउँसो १ः५० बजेसम्म विमानस्थलमा उडान र अवतरण रोकिने विमानस्थल कार्यालयले जनाएको छ । ११ः२० बजेदेखि रोकिएको उडान र अवतरण राष्ट्रपति सी फर्केपछि मात्रै सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।

प्रभावित उडानहरुको व्यवस्थापनका लागि त्रिभुवन विमानस्थल कार्यालयले शनिबार र आइतबार २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने जनाएको छ । 

दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ । 

यस्ताे छ संशाेधित उडान तालिका

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया