रात्रिभोजमा सहभागी हुनेलाई पोशाकदेखि खानासम्मको नियम : चिनियाँ राष्ट्रपतिले खान सुरु गरेपछि मात्रै खानुस् !

 असोज २५, २०७६ शनिबार १५:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको दुई दिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाण्डौ आइपुग्दै हुनुहुन्छ । झण्डै २३ वर्षपछि चीनबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो । 

राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उहाँका नेपाली समकक्षी विद्यादेवी भण्डारी आफैँ विमानस्थलमा पुगेर उहाँको स्वागत गर्दै हुनुहुन्छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्का सबै सदस्य विमानस्थलमै पुगेर चिनियाँ राष्ट्रपति सीको स्वागत गर्ने कार्यक्रम छ । 

चिनियाँ राष्ट्रपतिको स्वागतमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले शनिबार साँझ रात्रिभोजको पनि आयोजना गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग रात्रिभोजमा सरिक हुनेले भने कडा अनुशासन पालना गर्नुपर्ने छ । रात्रिभोजमा सहभागी हुने पाहुनाहरुले पोशाकदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने छ । 

चिनियाँ राष्ट्रपति सीसँग रात्रिभोज गर्ने अतिथिलाई परराष्ट्र मन्त्रालयले पठाएको निमन्त्रणा पत्रसँगै पालना गर्नुपर्ने नियम पनि बुँदागतरुपमा उल्लेख गरेर पठाएको छ । 

रात्रिभोजमा सहभागी हुने नेपाली अतिथिहरुमध्ये पुरुषले राष्ट्रिय पोशाक दौरा, सुरुवाल र ढाका टोपी अनिवार्य लगाउनु पर्नेछ । राष्ट्रिय पोशाक नलगाउनेहरुले भने सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउनु पर्नेछ । यस्तै जुत्तामा पनि एकरुपता कायम गरिएको छ । सहभागी नेपाली अतिथिहरुले तुना बाँध्ने छालाको कालो जुत्ता अनिवार्य लगाउनु पर्नेछ । 

महिलाको हकमा भने राष्ट्रिय पोशाक तथा सारी वा गाढा सुट लगाउनु पर्नेछ । 

सुरक्षा जाँचलाई उच्च प्राथमिकता दिइएका कारण रात्रिभोजमा सहभागी हुने अतिथिहरु निर्धारित समयभन्दा ४५ मिनेट अगावै उपस्थित भइदिन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । 

भोजका क्रममा मोबाइलफोन चलाउन, तस्बिर खिच्न मनाही गरिएको छ । यस्तै प्रमुख अतिथिको रुपमा रहनुभएका चीनका राष्ट्रपति सी जिनपिङले भोजन ग्रहण गर्न सुरु गरेपछि मात्रै अरुले सुरु गर्नुपर्ने पनि परराष्ट्रले पठाएको नियममा उल्लेख छ । 

भोज चलिरहेका बेला नउठिदिन र प्रमुख अतिथि हलबाहिर निस्किएपछि मात्रै उठ्न पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया