राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेट गर्ने

 असोज २६, २०७६ आइतबार ८:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङले आइतबार पनि भेटवार्तालाई तीव्रता दिनुहुने भएको छ ।

चिनियाँ राष्ट्रपति सीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यतालिका छ । यस अघि भ्रमणमा आउनुभएको पहिलो दिन शनिबार समकक्षी नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति सीले सत्तारुढ दलका अध्यक्ष दाहालको नेतृत्वमा बिहान १० : ३० बजे नेकपाका नेताहरुसँग सामूहिक भेट गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

भेटमा नेकपाका सचिवालयका सदस्यहरु सहभागि हुने बुझिएको छ । सामूहिक भेटपछि भने अध्यक्ष दाहाल र चिनियाँ राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ताको समय पनि निर्धारण गरिएको छ । 

अध्यक्ष दाहालसँगको भेटपछि भने राष्टपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यतालिका छ । भेटमा आपसी हित र सहकार्यका विषयमा कुराकानी हुने छ । 

प्रधानमन्त्रीसँगको भेटपछि भने द्विपक्षीय वार्ताको कार्यतालिका छ । नेपाल र चीनबीच विभिन्न परियोजना निर्माणका लागि सम्झौता हुँदैछ । राष्टपति सीको सहभागितामा परियोजनामा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि भने उहाँ दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया