दुईदिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता

 असोज २६, २०७६ आइतबार १४:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालकाे दुईदिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता हुनुभएको छ । 

दुईदिने भ्रमण सकेर उहाँ आइतबार दिउँसाे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गर्नुभयाे । बिदाइ समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीपरिषद्का सदस्य लगायतकाे सहभागिता रहेकाे थियाे । 

बिदाइका क्रममा नेपाली सेनाले राष्ट्रपति सीलाई सम्मान अर्पण गरेकाे थियाे । 

साेल्टी हाेटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधारणकाे उल्लेख्य सहभागिता थियाे । 

समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ शनिबार साँझ काठमाण्डाै आउनुभएकाे थियो ।  

राष्ट्रपति सी स्वदेश फर्कुनअघि आइतबार दुई देशबीच उच्चस्तरीय वार्ताका साथै विभिन्न २० ओटा समझदारी पत्र आदानप्रदान गरिएकाे थियाे । 

राष्ट्रपति सीले दुईदिने बसाइका क्रममा समकक्षी विद्यादेवी भण्डारीका साथै प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेट गर्नुभएकाे थियाे । यस्तै राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यहरुले समेत सामूहिक भेट गरेका थिए ।  

शनिबार राति आयाेजित रात्रिभाेजमा राष्ट्रपति सीले नेपाल भूपरिवेष्ठित देशबाट भूजडित देश हुने घोषणाका साथै चीन बढीभन्दा बढी व्यापारिक नाका खोल्न तयार रहेकाे बताउनुभएकाे थियाे । रात्रिभाेजकै क्रममा 'नेपाली नागरिककाे जीवनस्तर उकास्न' चीनले ५६ अर्ब रुपैयाँ सहयाेगस्वरुप उपलब्ध गराउने सीले प्रतिबद्धता पनि व्यक्त गर्नुभएकाे थियाे ।

राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया