अहिलेका नेताहरुमा न 'हृदय' छ, न 'भिजन' : पूर्वराष्ट्रपति यादव

 असोज २६, २०७६ आइतबार १६:१२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वराष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टिकोण नभएको बताउनुभएको छ । 

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्वर्गीय गिरिजाप्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा देश बनाउने दृष्टिकोण नभएको बताउनुभएको हो । 

तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उहाँले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेका नेताहरुमा न हृदय छ, न भिजन छ । होराइजन नै सानो देखिएको छ ।’

पूर्वराष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनीय रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रमसँगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको विचार राख्नुभयो । 

कार्यक्रममा नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजता कोइराला लगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो ।   

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया