भिक्ट्री लाउन्जबारमा लागेको आगो निभाइयो

 असोज २७, २०७६ सोमबार ६:३७:५२ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।

विद्युत् सर्ट भई साँझ सवा ६ बजे सुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति साढे ८ बजे निभाउन सफल भएका थिए । आगो  निभाउन काठमाण्डौ उपत्यकाका ११ दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

आगलागी भएको भवनको छैटौँ तल्लामा यो लाउन्जबार सञ्चालनमा थियो । लाउन्जमा आगोको ज्वाला उठेपछि दरबारमार्ग क्षेत्रमा सन्त्रास छाएको थियो । अग्नि नियन्त्रण र सुरक्षाकर्मीको प्रभावकारी प्रयासले आगो फैलिन नपाएका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको वरिष्ठ उपरीक्षक सुवेदीले बताउनुभयो ।

आगो निभाउन पानी ओसार्न उपत्यकाका ठूलो स¬ङ्ख्यामा खानेपानीका टयाङ्करको प्रयोग गरिएको थियो । आगो निभाउने क्रममा एक अग्नि नियन्त्रकसमेत घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट के–कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया