थाहा नगरपालिकामा श्रृंखलाबद्ध आगजनी : वडा कार्यालय, टिप्पर र एक्स्काभेटर जलाइयो

 असोज २७, २०७६ सोमबार १२:१७:५४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–५ को वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ । 

आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार मध्यरातमा आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ढोका फुटाएर पेट्रोल र मट्टितेल छर्केर आगो लगाइएको छ । विद्युत् मिटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएछन् ।’

स्थानीयले आगो निभाएर जनप्रतिनिधिलाई खबर गरेको वडा सदस्य चमेली वाइबाले जानकारी दिनुभयो । ‘कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ, केही बाँकी छैन,’ वाइबाले भन्नुभयो ।

वडा कार्यालयका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनीको कुनै समूह तथा व्यक्तिले जिम्मा लिएको छैन ।

गएको बिहीबार राति पनि थाहा नगरपालिका–३ को शिखरकोटमा पार्किङ गरेर राखिएका टिप्पर र एक्स्काभेटरमा नचिनेको मानिसको समूहले आगजनी गरेका थिए ।

थाहा उद्योग वाणिज्य संघको भवननजिक पार्किङ गरेर राखिएको बा ३ क १२१५ नम्बरको टिप्पर र ना १ क ३२४२ नम्बरको एक्स्काभेटर आगजनी गरेर क्षतिग्रस्त बनाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । अटोमा चढेर आएका व्यक्तिहरुले आगजनी गरेर भागेको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया