झुलाघाटमा पक्की पुल बनाउन सरकारले कुनै पहल नगरेकाे भन्दै ३७ दिनपछि अनशन स्थगित

 असोज २७, २०७६ सोमबार १८:५१:५९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – गएको भदौ २२ गतेदेखि भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै सुरु गरिएको रिले अनशन स्थगित भएको छ । 

झुलाघाटमा पुल निर्माणको माग गरेर अनशन बसेको ३७ औँ दिनसम्म पनि सरकारको तर्फबाट कुनै पनि पहल नभएकाले रिले अनशन स्थगित गर्न बाध्य भएको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले जनाएको छ ।

समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्ना मागप्रति सरकारले कुनै प्रतिक्रिया नदिनु निकै दुखदायी र बिडम्बनापूर्ण भएको जनाएको छ ।

झुलाघाटमा पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि माग गरिरहेको भए पनि सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले जानी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

बैतडीबासीले गरेको शान्तिपूर्ण रिले अनशनप्रति सरकारको ध्यान नगएकाले अब संघीय राजधानी काठमाण्डौ केन्द्रित संघर्षका कार्यक्रमहरु तय गर्ने निर्णय भएको विज्ञप्तिमा लेखिएको छ । 

झुलाघाट नाकामा पक्की पुल निर्माण गर्दा सुदूर पश्चिमको समग्र विकासमा टेवा पुग्ने भएकाले यो मुद्दालाई अझै व्यापक बनाइने संघर्ष समितिका संयोजक चन्दले बताउनुभयो । झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडी आएका सबै दलका शीर्ष नेताहरुले बेलाबेलामा आश्वासन दिएको भए पनि त्यो अहिलेसम्म पूरा हुन नसकेको चन्दले गुनासो गर्नुभयो । 

अहिले सीमा नाकामा झण्डै डेढ सय वर्षअघि इस्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिमा अनशनका समयमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गरेको छ । ३७ दिनसम्म सञ्चालन भएको रिले अनशनमा एक हजार बढी नागरिकले सहभागिता जनाएको संघर्ष समितिले जनाएको छ ।

सरकारको गौरवको आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा पक्की पुल नभएकै कारण सुदूर पश्चिमको पर्यटनलगायत समग्र आर्थिक क्षेत्रको समृद्धिमा बाधा पुगेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया