जापानमा आँधीका कारण ज्यान गुमाउनेकाे संख्या ५६ पुग्यो

 असोज २८, २०७६ मंगलबार ७:९:३६ | एजेन्सी
unn.prixa.net

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेकाे संख्या ५६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार ज्यान गुमाउनेको सङ्ख्या अझ बढ्ने देखिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौँ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरूले जनाएका छन् । 

उनीहरूले विनासकारी आँधीपछि अझै १५ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको छ  ।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । 

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।

आँधीपछि उद्धारका लागि रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् । आँधी कम भए पनि नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए ।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।

नागानोमा एउटा बुलेट रेल माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले सोमबार पनि प्रसारण गरेका छन् ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया