निलम्बित सांसद आलमलाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप

 असोज २८, २०७६ मंगलबार १२:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – हत्याको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई रौटहट जिल्ला अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने म्याद दिएको छ ।

प्रहरीले अनुसन्धानका लागि १० दिनको समय मागे पनि न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ७ दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको हो । यसैबीच आलमले आफूलाई न्यायालयप्रति विश्वास भएको प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै आलमले सबै कुरा समयले नै बताउने भन्दै अदालतप्रति भरोसा रहेको  बताएका छन् । आलमलाई प्रहरीले हत्याको अभियोगमा १२ वर्षपछि पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

के हो घटना ?

२०६४ को संविधान सभाको चुनावको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । मोहम्मद अफताब आलमको घर नजिकैको त्यस ठाउँमा विस्फोट हुँदा केही व्यक्तिहरु घाइते भएका थिए । विस्फोटमा परि कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको यकिन भएको थिएन ।

तर सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्मद अफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सेराजविरुद्ध किटानी जाहेरी दिएका  थिए ।

सरुअठाको घरमै बसी रहेका त्रिलोकप्रताप सिंहलाई चुनाव प्रचारप्रसारका लागि जाउँ भन्दै शेख भदई बोलाउन आएका थिए । चुनावी प्रचारमा हिँडेका सिंह र अख्तर बम बनाइरहेको स्थानमा घाइते भएको र उनीहरुलाई घाइते अवस्थामै उपचारका लागि लाने भन्दै घाइते केही भारतीय नागरिक समेतलाई नजिकैको इँटा बनाउने चिमनी भट्टामा लगेर जलाइएको आरोप आलममाथि लागेको थियो ।

स्थानीयले समेत त्यतिबेला तत्कालीन प्रहरीले राम्ररी काम गर्न नसकेको आरोप लगाएका छन् ।

अदालतको फैसला

घटना भएको बेला तत्कालीन प्रहरी र सरकारी वकिलको कार्यालयबाट मुद्धा नचलाउने भन्दै निर्णय गरिए पनि पछि पुनः त्यही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेष्ठ १६ गते, मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्ने आदेश भएको थियो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत्र ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागि पत्राचारसमेत गरेको  थियो । २०६४ को संविधान सभा चुनावको पूर्वसन्ध्यामा भएको  विस्फोटमा परि घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाइएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

सर्वोच्च अदालतको आदेशअनुसार आलमलाई पक्राउ गरेर अनुसन्धान कार्य सुरु गरेको प्रहरी उपरीक्षक(एसपी) भुपेन्द्र खत्रीले बताउनुभयो । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई गौर आउने बाटोमा रहेको इद्रिस गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटमा गौरमा राखिएको उहाँले जानकारी दिनुभयो ।

अदालतमा दायर भएको मुद्दाअनुसार घटनाका मुख्य अभियुक्त सांसद आलम रहेको र अन्यको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मुलुकी फौजदारी अपराध संहिता अन्तर्गत ज्यानसम्बन्धी कसुरको महलमा म्याद थप गरेर अनुसन्धान सुरु हुने एसपी खत्रीले बताउनुभयो ।

आलम पक्राउ परेपछि पीडित र काग्रेंस नेताको प्रतिक्रिया 

सासंद आलम पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले गौरको सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ भने अन्य जिल्लाहरुबाट समेत थप प्रहरी बल मद्दतका लागि बोलाइएको छ ।

घटनाका मुख्य अभियुक्त भनिएका अफताब आलम पक्राउ परेपछि उजुरीकर्ता श्रीनारायण सिंहलाई न्याय पाउने आशा पलाएको छ । ‘घटनाको लामो समयपछि बल्ल रौतहटको प्रहरीले आलमलाई पक्राउ गर्दा न्याय पाइन्छ भन्ने आश पलाएको छ’, गहभरि आँसु पार्दै सिंहले भन्नुभयो, ‘सधैँ पद र ओहोदाका कारण जोगिएर बसेका आलम पक्राउ परेको देख्दा देशमा अझै प्रहरी र कानुन जीवित छ भन्ने आभास भएको छ ।’ छोरा गुमाएको पीडा अझै भुल्न नसकेका वृद्ध सिंह कानुनी प्रक्रियाका क्रममा अदालतले दिने फैसलाप्रति गम्भीर हुनुहुन्छ । ठूलो मान्छेले अपराधले गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णयपछि थाहा हुने उहाँले बताउनुभयो ।

यता पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता सासंद आलम पक्राउ परेपछि नेपाली काग्रेंसका नेताहरुले चर्को विरोध गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णा यादवले आलमको रिहाइ नभएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । 

कांग्रेस नेता तथा परोहा नगरपालिकाका मेयर शेख वकिलले प्रहरीले अपहरणकारी शैलीमा नेता आलमलाई पक्राउ गरेको भन्दै आपत्ति प्रकट गर्नु भएको छ । तरुण दलका सभापति शेख नौसाले पनि नेता आलमलाई बिनाशर्त सकुशल रिहाइ नगरेमा चर्को आन्दोलनका कार्याक्रम गर्ने बताउनु भएको छ भने कांग्रेसकै रामचन्द्र गिरीले सांसद जस्तो व्यक्तिलाई प्रहरीले बिनासूचना बाटोबाटै जबरजस्ती पक्राउ गरेको भन्दै विरोध जनाउनु भएको छ ।

ज्यान मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेपछि संसद सचिवालयले मोहम्मद अफताब आलमलाई निलम्बन गरेको सूचना प्रकाशित गरेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया