कप्तान मात्रै छाडेको हो, म अझै क्रिकेट खेल्छु : पारस खड्का

 असोज २८, २०७६ मंगलबार १६:३७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आश्चर्यजनक तरिकाले नेपाली क्रिकेट टिमको कप्तान पदबाट पारस खड्काले राजीनामा दिएका छन् ।

उनले राजीनामा गर्दा नयाँ निर्वाचित क्यानलाई काम गर्न सजिलो होस भनेर आफूले कप्तान पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । फेसबुकबाट आफूले राजीनामा दिएको घोषणा गरेका पारसले काठमाण्डौ भएको वुमेन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक कार्यक्रममा मिडियासँग यसरी खुलेर कुरा राखे ।

के भने पारसले ?

मैले कप्तानी पद सम्हालेको पनि १० वर्ष भइसकेको छ । म आफै पनि नेपाली क्रिकेटको निलम्बन फुकुवा कहिले हुन्छ भनेर कुरेर बसेको थिए । हिजो मात्रै नेपाल क्रिकेट संघको निलम्बन फुकुवा भएको छ । हिजो मात्रै आईसीसीबाट सार्वजनिक भएको निर्णयले हामी सबै क्रिकेट समर्थक खेलाडी र नेपाली खेलकुद प्रेमीहरु खुशी भएका छौं । अब नयाँ क्याप्टेन को बन्छ भन्ने कुरामा मेरो वास्ता हुँदैन ।

म कप्तान हुँदा पनि तपाईँ क्याप्टेन बन्दै हुनुहुन्छ तयार हुनुस् भनेर त्यतिबेला पनि भनिएको थिएन । २००९ मा मलाई क्रिकेट संघले कप्तानको जिम्मेवारी दियो र मैले इमान्दारितापूर्वक जिम्मेवारीलाई पूरा गर्ने कोसिस गरेँ ।

अब नेपाली क्रिकेट टिमको कप्तान जो बने पनि नेपाली क्रिकेटको जित हुनु पर्छ । नेपाली क्रिकेटले अहिलेसम्म जुन उपलब्धि हासिल गरेको छ त्यसमा खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ । म कप्तान भएकै कारण नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको पनि होइन र म कप्तानबाट हट्दैमा यो उपलब्धि गुम्छ भन्ने पनि छैन । यहाँसम्म आइपुग्न सम्पूर्ण खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ ।

क्रिकेट भनेको हामी सबैको हो भन्ने सोचका साथ हामी अगाडि बढौँ । आशा छ आगामी दिनमा नेपाल क्रिकेटले अझ बढी सफलता हासिल गरोस । अबको नेतृत्वले नेपाली क्रिकेटलाई राम्रो बनाउने सोच लिने हो भने अहिलेको भन्दा अझ राम्रो अवस्थामा नेपाली क्रिकेट पुग्छ भन्नेमा म विश्वस्त छु ।

२००९ देखि यहाँसम्मको यात्रालाई कसरी विश्लेषण गर्ने ?

सबै खेलाडीको साथ र सहयोगका कारण म एकदमै सन्तुष्ट छु । नेपाली क्रिकेट यहाँसम्म आइपुग्नुमा प्रशिक्षकको खेलाडीको ठूलो साथ र सहयोग छ । प्रशिक्षक लुक रोय डायसदेखि उमेश पटवालसम्मलाई धन्यवाद दिन चाहन्छु । तीन जना विदेशी र एक जना स्वदेशी प्रशिक्षक जगत गुरुको ठूलो योगदान छ ।

हामी सबैको एउटै सोच थियो जसरी भए पनि नेपाल क्रिकेटलाई माथि पुर्‍याउने । यो सोच सबै ठाउँबाट एकमुष्ट रुपमा शक्तिको रुपमा अगाडि बढ्दा हामी यहाँसम्म आइपुग्यौँ ।

आगामी दिनमा खेलाडीको रुपमा छानिएँ भने पक्कै पनि नेपालका लागि राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछु ।

म कप्तान बन्छु भनेर सपना पनि देखेको थिएन । यू–१५, यू–१७, यू–१९ खेल्दै जब राष्ट्रिय टिमबाट खेल्दा समेत कप्तान बन्छु जस्तो लागेको थिएन । तर भाग्यले राष्ट्रिय टिमको नेतृत्व गर्ने मौका पनि पाए । यसप्रति म आभारी छु ।

अब नेपाली क्रिकेटलाई माथि लैजानका लागि खेलाडीको मेहनतले मात्रै पुग्दैन । अब आशा गरौँ, जो जो व्यक्तिहरु जिम्मेवारीका लागि तयार भएर आउनु भएको छ उहाँहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुहुने छ ।

यस्तो राम्रो प्रदर्शन गरिरहेका बेला किन अलि हतार भएन र कप्तानी छाड्नलाई ?

टिम हारेर वा जितेर मैदानमा घोषणा गर्ने कुरा मैले कहिल्यै पनि सोचेको थिएन । रिटायर्डमेन्ट त अझै नभनौँ । मेरो जिम्मेवारी भनेको जहिले पनि कसरी नेपाललाई जिताउने भन्नेमा नै केन्द्रित थियो । हामी पनि निलम्बन कहिले फुकुवा हुन्छ भनेर बसेका थियौँ ।

हिजो मात्र निलम्बन फुकुवा भएको छ । हिजो राति पनि मैले मेरा नजिकका मान्छेसँग सल्लाह गरेँ र अन्त्यमा मैले राजीनामा दिने निर्णय गरेको हुँ । क्रिकेटको बारेमा मैले कसैसँग पनि सम्झौता गर्न सक्दिनँ ।

मैले सधैँ देशका लागि क्रिकेट खेल्ने हो । त्यसैले मैले उपयुक्त समयमा राजीनामा दिएको छु । अहिले क्यानको नयाँ नेतृत्व आएको छ । उहाँहरुसँग नयाँ कप्तान छान्ने जिम्मेवारी पनि रहेको छ ।

आगामी दिनमा खेलाडीको रुपमा छानिएँ भने पक्कै पनि नेपालका लागि राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछु । मलाई मिडियाले पनि राम्रो साथ दिएका छन् । नेपाली क्रिकेटको बेस भनेको उमेर समूह हो । त्यसलाई राम्रो बनाउँदै हामी गयौँ भने टेस्ट नेशन बन्न धेरै समय लाग्दैन ।

क्रिकेट त खेल्नु हुन्छ नि ?

म अझै क्रिकेट खेल्छु । सन्यास लिएको होइन । कप्तान मात्रै छाडेको हो । विगत तीन वर्षदेखि कप्तान, सेलक्टर, मेन्टर भएर पनि काम गरेँ । जसबाट अब मैले ब्रेकमात्र लिएको हो । अहिले क्यानको नेतृत्व आएको छ । अब खेलाडी छनोट समिति बन्छ, प्रशिक्षकहरु आउनुहुन्छ उहाँहरुले निर्णय गरेपछि मेरो भूमिका तय हुन्छ ।

नयाँ नेतृत्वसँग ट्युनिङ नमिलेर हो त ?

मेरो उहाँहरुसँग कुरा पनि भएको छैन । यहाँ निर्वाचन हुने बेला हामी सिंगापुर सिरिजमा व्यस्त थियौँ । हामी एउटा व्यक्तिमा नअड्कियौं । अब क्रिकेट संघले खेल र खेलाडीलाई प्राथमिकतामा राख्नु पर्छ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया