भोटेकोशीबाट कात्तिक पहिलो सातादेखि विद्युत् उत्पादन हुने

 असोज २९, २०७६ बुधबार ८:७:५९ | रासस
unn.prixa.net

सिन्धुपाल्चोक – जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो । 

आयोजनाले अहिले करिब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिनुभयो । जुरे पहिरोमा विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि ६ महिना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो । आयोजनाले टावर मर्मत गरेपछि विद्युत् उत्पादन सुरु भए पनि विसं २०७२ को भूकम्पमा आयोजनामा पुनः क्षति पुगेको थियो । भूकम्पमा क्षति भएको आयोजना पुनःनिर्माण सुरु हँुदै गर्दा भोटेकोशीको बाढीले आयोजनामा धैरै क्षति पु¥याएको थियो ।

आयोजनाको अहिले हेडबक्सका काम सकिएको र पानी भर्ने काम भइरहेको स्थापितले जानकारी दिनुभयो । ‘हामी अहिले हेडबक्सको परीक्षणमा छौँ’, स्थापितले भन्नुभयो, ‘विद्युत् गृह परीक्षणको प्रक्रियामा छौँ ।’ असोजभित्र पुनःनिर्माण सकेर कात्तिक पहिलो सातादेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको स्थापितले जानकारी दिनुभयो । सुरुमा पहिलो युनिट परीक्षण गर्ने र त्यसपछि अरू युनिट पनि चलाउने तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ । 

साढे चार वर्षदेखि विद्युत् आयोजना अवरुद्ध हुँदा अर्बौं क्षति भएको आयोजनाले जानकारी दिएको छ । आयोजना पुनःनिर्माणका लागि सात अर्ब रुपैयाँ खर्च हुने महाप्रबन्धक स्थापितले जानकारी दिनुभयो । यो रकम नयाँ आयोजना निर्माण गर्दा लाग्ने खर्च जत्तिकै भयो, महाप्रबन्धक स्थापितले भन्नुभयो, ‘क्षति धेरै भयो, लागत पनि बढ्यो ।’

आयोजनाको हेडबक्स, सुरुङ र पेनस्टक पाइपमा समेत क्षति पुगेको थियो भने इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेको आयोजनाले जानकारी दिएको छ । भूकम्पमा अन्य संरचनामा मात्रै क्षति भए पनि बाढीले भने बाँध र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ । 

आयोजना बन्द हुँदा कति क्षति भयो त्यो अहिले भन्न नमिले पनि भूकम्पले मात्रै तीन अर्ब रुपैयाँभन्दा बढी क्षति भएको आयोजनाका महाप्रबन्धक स्थापितले बताउनुभयो । आयोजनाले सुरुमा ३६ मेगावाट मात्रै विद्युत् उत्पादन गरे पनि सन् २०११ मा विद्युत् खरीद सम्झौतापछि ४५ मेगावट क्षमतामा गएको थियो ।

जुरे पहिरोले भोटेकोशी बन्द भए पनि शेयर माग गर्दै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए । पछि त्यतिबेलाका प्रमुख तीन पार्टीकै नेतृत्वमा भोटेकोशीविरुद्ध आन्दोलन चर्किएपछि जिल्लावासीलाई छ प्रतिशत शेयर दिन भोटेकोशी तयार भएको थियो । शेयर दिन तयार भए पनि आयोजना पुनः बन्द भएपछि त्यसको प्रक्रिया अघि बढेको छैन । आयोजना पुनः सञ्चालनमा आएपछि आफूहरूसँग गरेको सम्झौता कार्यान्वयनमा दबाब दिने स्थानीयवासीले जानकारी दिएका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया