सांसद साहमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

 असोज २९, २०७६ बुधबार १२:२४:० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साहलाई अनुसन्धानका लागि ४ दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत धनुषाले बुधबार बिहान साहमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप गरेको हो । म्याद थप भएपछि सांसद साहले संचारकर्मीसँग कुराकानी गर्दै अदालातको निर्णय आफ्नो लागि सर्वमान्य हुने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘न्यायपालिकाले जे निर्णय गर्छ । मलाई सर्वमान्य छ । मैले सही गरेछु वा गलत, त्यो मूल्यांकन गर्ने काम नागरिकमाथि छोडेको छु ।’

म्याद थपपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । गएको सोमबार काठमाण्डौ जाने क्रममा राजपाका प्रतिनिधिसभा सदस्य साहले जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टर तोडफोड गर्नु भएको थियो ।

घटनापछि नागरिक उडड्यन प्राधिकरणले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा सांसद साहविरुद्ध जाहेरी दिएको थियो । त्यसपछि उहाँलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरी जनकपुर ल्याएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया