पाँच किलो सुनसहित पक्राउ परेका तोप्चेनलाई प्रहरीले गर्‍यो सार्वजनिक

 असोज २९, २०७६ बुधबार १७:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – खुवासभाको भोटखोला गाउँपालिका–२, घट्टेखोलामा पाँच किलो सुन हित पक्राउ परेका तोप्चेन भोटेलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले पत्रकार सम्मेलन गरी भोटखोलाको घट्टेखोलामा पाँच किलो सुनसहित पक्राउ परेको तोप्चेन भोटेलाई सार्वजनिक गरिएको हो । मकालु गाउँपालिका–४, स्थायी घर भई हाल खाँदबारी–१ बस्दै आएका २६ वर्षीय भोटेलाई प्रहरीले सोमबार ५ किलो सुनसहित पक्राउ गरेका थिए

चीनबाट किमाथांका नाका हुँदै अवैध रुपमा रिदाकको बाटो हुँदै खाँदबारीतर्फ सुन लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक गर्ने क्रममा भोटे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक(डीएसपी) मिमबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, सुराकीको आधारमा चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेक गर्दा झोलाभित्र विभिन्न सामानका साथै भित्री भागमा लुकाएर ५ थान सुन फेला पारेको बताउनुभयो ।

पक्राउ परेका भोटेलाई मंगलबार राति मात्रै सदरमुकाम खाँदबारी ल्याइएको हो । बरामद भएको सुनलाई खाँदबारी ल्याएर सुनचाँदी व्यबवसायी संघमा चेक गरिएपछि मात्रै सुन नै भएको प्रमाणित भएको डीएसपी लामाले बताउनुभयो ।

‘बरामद भएको सुनको एउटा ढिक्का एक हजार ग्राम अर्थात एक/एक केजी रहेका र उक्त सबै सुनको अहिलेको बजार मूल्यअनुसार तीन करोड सात हजार पाँच सय रुपैयाँ हुन आउने रहेछ’, डीएसपी लामाले भन्नुभयो, ‘भोटेलाई थप कानुनी प्रक्रिया बढाउन राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइने तयारी भएको छ ।’

चीनबाट खाँदबारी हुँदै लुकीचोरी विराटनगर, काठमाण्डौतर्फ सुन लैजाने अनुमान गरिएको प्रहरीको भनाइ छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सबै नाकाहरुमा कडाइ गर्ने निर्णय गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन दुलालले बताउनुभयो । उहाँले यो सांगठानिक अपराधिक क्रियाकलाप गर्नेहरुको गिरोह नै रहेको र त्यसको बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो  । 

संखुवासभामा यति ठूलो परिणाममा सुन भेटिएको यो पहिलो घटना हो । त्रिदेशीय लिंकको रुपमा रहेको भारतको जोगबनी–विराटनगर हुँदै खाँदबारीबाट किमाथांका नाकाबाट चीनको तिब्बत निस्कने सबैभन्दा छोटो बाटो नै कोशी–ल्हासा राजमार्ग मानिन्छ । तिब्बत र संखुवासभाको सिमावर्ती किमाथांका नाका खुला रहेकाले चीनतर्फ आवतजावत सहज भएको आशंका छ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया