काँचै टिपेर इलामका बजार-बजारमा पुर्‍याइएका किवीमा कम गुणस्तर भएकाे पुष्टि

 असोज २९, २०७६ बुधबार २०:३६:२२ | सुजता सुनुवार
unn.prixa.net

इलाम – कात्तिक महिनाको अन्त्यतिर मात्रै पाक्ने किवी भदौको पहिलो हप्ताबाटै बजारमा छ्याप्छ्याप्ती भेटिएपछि गुणस्तर जाँच गरिएको छ । 

बजारमा आएका काँचो किवीलाई नियन्त्रण गर्ने उद्देश्यले किवी जोन सञ्चालक समितिको सक्रियतामा गुणस्तर जाँच गरिएको हो । गुणस्तर जाँचका क्रममा बजारमा भेटिएका किवीमा पाँच प्रतिशत मात्रै गुलियोपना पाइएकाले बजारको किवी कम गुणस्तरको रहेको पुष्टि भएको छ । 

विषादीको प्रयोग नगरी पाकेको किवीलाई ‘रिफ्याक्ट्रोमिटर’ले नाप्दा ७ देखि ९ प्रतिशत गुलियोपना हुनुपर्छ । यसलाई मात्र पोषण तत्व पर्याप्त भएको खानयोग्य किवी मानिने गरेको किवी विज्ञहरुको भनाइ छ । 

मज्जाले पाकेको किवीमा २० प्रतिशतसम्म गुलियोपना भेटिने किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समुद्री सतहबाट १२ सयदेखि साढे १५ सय मिटरसम्मको जमिनमा फलेका किवीको परीक्षण गरिएको हो । 

सन्दकपुरको ओझा कृषि फार्म, इलाम नगरपालिकाको बिस्ट किवी फार्म लगायत सबै क्षेत्रको किवी परीक्षण गरिएको छ । परीक्षणमा गुणस्तर कम भएको किवी स्वादिलो नहुने, अमिलोपना ज्यादा हुने, टिप्नयोग्य नभइ टिपिएका किवीमा चाउरिने र कुहिने जस्ता समस्या देखापर्छ । 

टिप्नयोग्य नभइ किवी टिप्ने प्रतिस्पर्धा बढेर गए किवीमा फल पकाउने केमिकलसमेत प्रयोग हुनसक्ने देखिएकाले सिजन सुरु नभइ किसानहरुलाई किवी नटिप्न आग्रह गरिएको छ । 

सबैलाई सचेत गराउँदा पनि अटेर गरेकाले काठमाण्डौका एक व्यापारीलाई इलाम नगरपालिकाको साङ्गरुम्बाबाट किवी नकिन्न भन्दै फर्काइएको समिति अध्यक्ष राईले बताउनुभयो । जिल्लाका अन्य स्थान माइपोखरी, आलुबारीलगायतका स्थानमा समेत निगरानी गर्न थालिएको छ । 

इलाम किवी खेतीका लागि योग्य जिल्ला भएकाले ‘किवी जोन कार्यक्रम’ सञ्चालन भैरहेको छ । जिल्लाका सन्दकपुर गाउँपालिकाका ६ ओटा वडा र इलामको १, २, ३, र ४ नम्बर वडालाई किवी जोन क्षेत्र घोषणा गरिएको छ । 

इलाम सुपर जोन बनेपछि इलामेलीको उत्पादनमा उपभोक्ता सन्तुष्ट बनोस् भनेर नै काँचो किवी टिपाइमा कडाइ गर्न थालिएको समिति अध्यक्ष राईले भन्नुभयो ।  

किसान र व्यापारीले काँचै किवी बजारमा लान थालेपछि पहिलो चरणको जाँच गरिएको छ । अब कार्तिक दोस्रो साता पुनः जाँच गरिने बताइएको छ । दोस्रो चरणमा भने किवी खेती गरिरहेका सम्पूर्ण कृषकलाई भेला गरेर कुन समयमा किवी टिप्ने, कसरी टिप्ने, किवीको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेबारेमा समेत ज्ञान दिइने समिति अध्यक्ष राईले जानकारी दिनुभएको छ । 

इलामको किवी इलाम बजार, राँके, झापाको बिर्तामोड, दमक हुँदै काठमाण्डौसम्म निकासी भैरहेको छ । यो समय जिल्लाका सोयाङ्ग, साङ्गरुम्बा, सन्दकपुरको आलुबारीलगायतका स्थानमा काँचै किवी टिपिएको पाइएको छ । 

यसले इलामका आगामी उत्पादन व्यापारीको रोजाइमा नपर्ने, इलामको किवीमा उपभोक्ताको विश्वास घटेर जाने जस्ता दीर्घकालीन समस्या देखापर्ने भएकाले यस्ता कार्यलाई रोक्ने सयन्त्र खोजिरहेको समितिले जनाएको छ । 

काँचो किवीलाई नियन्त्रण गर्न उद्योग वाणिज्य संघ इलामले झापाको बिर्तामोड र दमक उद्योग वाणिज्य संघलाई काँचो किवी टिपेर बिक्री गर्ने कार्यलाई रोक्न आग्रहसमेत गरेको छ । 

जिल्लाका तीन हजार किसानले इलाममा किवीको व्यवसायिक खेती गरिरहेको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कमा उल्लेख छ । वर्षमा तीन सय मेट्रिक टन किवी उत्पादन हुने गरेको पाइएको छ । 

अहिले किवी प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भैरहेको छ । इलामसहित सोलुखुम्बु र दोलखामासमेत ‘किवी जोन कार्यक्रम’ लागू भएको छ । यी दुई जिल्लामा भने हालसम्म किवी टिप्न सुरु नगरिएको समितिले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया