सांसद सभामुखको गिरफ्तारीले लोकतन्त्रको छवि बिग्रियो : बाबुराम भट्टराई

 असोज ३०, २०७६ बिहिबार ११:४२:४२ | किरण लोहनी
unn.prixa.net

गोरखा – समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व–प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ठूला पदमा बसेका व्यक्तिहरु विभिन्न आशंकामा गिरफ्तार हुँदा लोकतन्त्रको छवि बिग्रिएको बताउनुभएको छ ।

गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।  ‘जनप्रतिनिधिहरु आपराधिक गतिविधिमा संलग्न हुनु, आशंकामा गिरफ्तार हुनु यसलेचाहिँ लोकतन्त्रको छवि बिगारेको छ यसलाई अलि गम्भीरतापूर्वक लिनुपर्छ’ भट्टराईले भन्नुभयो, ‘यसको अर्थ फेरि लोकतन्त्र असफल भयो भन्ने होइन, लोकतन्त्र थियो र पो यस्ता अपराध बाहिर आए ।’

हिजो निरंकुशतन्त्रमा भएका ठूला अपराधका घटना कहिल्यै बाहिर नआउने गरेकोमा अहिले जुनसुकै ओहोदाको ब्यक्ति पनि कसूर अनुसार कारवाहीको भागिदार हुन्छ भन्ने सन्देश भएको उहाँको भनाइ छ । ‘हिजो निरंकुश तन्त्रमा ठूला–ठूला अपराध हुन्थे, नमिता सुनिता काण्डहरु हुन्थे, विभिन्न प्रकारका ठूला तस्करीमा दरबार संलग्न भएको कुरा गाइगुइँ आउँथ्यो,  तर त्यो कहिल्यै टुंगोमा पुगेन’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र छ अहिले, त्यसो भएको हुनाले नागरिकको प्रतिनिधि र सभामुख भएको मान्छेसमेत पनि गल्ती गर्‍यो भने समातिन्छ भन्ने सन्देश भएको छ, त्यसलाई सकारात्मक ढंगले लिनुपर्छ ।’ तर गल्ती र बदमासी गर्नेलाई दण्डित गर्नुपर्ने भन्दै भट्टराईले यो पार्टी र ऊ पार्टी भनेर ढाकछोप गर्न नहुने बताउनुभयो । 

भट्टराईले समाजवादी पार्टी छिट्टै सरकारबाट बाहिरिने बताउनुभएको छ । सत्ताका साझेदारको रुपमा नभै  संविधान संशोधनका लागि दुई तिहाइ पुर्‍याउन मात्रै अहिलेको सरकारलाई साथ दिएको भन्दै उहाँले तर सरकारले संविधान संशोधन गर्ने संकेत नदेखाएको बताउनुभयो । ‘डेढ दुई वर्ष भैसक्यो अब सरकारमा बसिरहनुको औचित्य रहँदैन, सरकार बाहिर निस्किएर जनताको पक्षमा लाग्ने र पार्टीको आधार खडा गर्ने काम गर्छौं’ उहाँले भन्नुभयो, ‘उहाँहरुले कुनै चासो देखाइरहनु भएको छैन, प्रधानमन्त्रीले संविधानको संशोधनको कुरा गर्नेलाई छेडखानी गर्नुहुन्छ, यो त दिनदिनै गाइरहने गीत हो भन्नुहुन्छ अब सरकारबाट बाहिरिनुको विकल्प छैन ।’ समाजवादी पार्टीको अब बस्ने केन्द्रिय समितिको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने सम्भावना रहेको भट्टराईको भनाइ छ ।

राष्ट्रिय जनता पार्टीसँग पनि पार्टी एकताबारे छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । ‘पुराना शक्तिबाट परिवर्तन सम्भव हुँदैन, परिवर्तनकामी पक्षधर शक्तिहरु र विशेष गरि ५२ सालपछि उदय भएका र अग्रगामी सोच राख्ने सबैसँग सहकार्य गर्ने, एकता र ध्रुवीकरण गर्ने नीति हो ।’ भट्टराईको भनाइ छ ।

यसअघि पार्टीले गरेको चियापान कार्यक्रममा बोल्दै भट्टराईले सत्तारुढ दलका नेताको कमिशन मोहका कारण बूढीगण्डकी जलविद्युत आयोजना अन्यौलमा परेको बताउनुभयो । चीनका राष्ट्रपतिको पछिल्लो भ्रमणका क्रममा बूढीगण्डकी आयोजना आफैँले बनाउनेबारे कुरा हुने अपेक्षा गरेकोमा त्यसो नभएकोमा भट्टराईको असन्तुष्टि छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया