समान सहभागिताका लागि अन्तिम संघर्षको खाँचो छ : मन्त्री थापा

 असोज ३०, २०७६ बिहिबार १२:२९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले हरेक क्षेत्रमा पुरुष जत्तिकै महिलाको सहभागिता बढाउन अझै संघर्षको खाँचो रहेको औँल्याउनुभएको छ ।  

संविधानको मौलिक हकमा महिलालाई अंश र वंशको समान हक प्रदान गरेको उल्लेख गर्दै उहाँले अब सहभागिताको सन्दर्भमा पनि समान व्यवस्था कायम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  

बेइजिङ समीक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालले ललितपुरमा बिहीबारदेखि सुरु गरेको दुइदिने राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो धारणा राख्नुभएको हो । 

मन्त्री थापाले विक्रम संवत २०६२/०६३ को परिवर्तनपछि महिला अधिकारको सवालमा उपलब्धीहरु हात पर्दै गएको भन्दै अब हरेक क्षेत्रमा समान सहभागिताका लागि अन्तिम संघर्षको खाँचो रहेको बताउनुभयो । 

विक्रम संवत २०७४ मा भएको स्थानीय तहको चुनावबाट झण्डै ४१ प्रतिशत महिला प्रतिनिधित्व निर्वाचित हुनु संघर्षकै प्रतिफल रहेको पनि उहाँले भन्नुभयो ।   
दुई दिनसम्म चल्ने कार्यशालामा विभिन्न विषयमा छलफल हुनेछ । 

महिला र वातावरण, महिला शिक्षा र तालिम, महिला र गरिबी, महिला र संस्थागत संयन्त्रलगायतमा विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुनेछ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया