लाेपाेन्मुख जाति, भाषा र संस्कृतिकाे संरक्षण गर्ने दायित्व सरकारकाे हाे : मन्त्री भट्टराई

 असोज ३०, २०७६ बिहिबार १३:३१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

मन्त्री भट्टराईले सबै भाषा, जाति, संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि सरकारले संवैधानिक अंगहरुको व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्नका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको स्थापना गर्नुपरेको बताउनुभयो । 

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नयाँ पुस्तालाई हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्नेगरी भाषा आयोग, महिला आयोग, मधेशी आयोग र विभिन्न प्रतिष्ठानहरुको गठन गरिएको बताउनुभयो । साथै उहाँले ती प्रतिष्ठानले खोज र अनुसन्धानको कामलाई निरन्तरता दिइरहेको पनि स्पष्ट पार्नुभयो । 

‘अझै पनि कतिपय जातिहरुको पहिचान हुन बाँकी होला, कतिपय हाम्रा भाषाहरु लोप हुन लागेका होलान्,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘तिनीहरुको संरक्षण र सम्बर्द्धन गर्ने दायित्व सरकारको हो ।’ कार्यक्रममा मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ-संस्थाले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले सांस्कृतिक सम्पदाहरुको संरक्षण हुने गरी ‘सांस्कृतिक नीति’ बनाएकोमा खुसी व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

यसैबीच अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार बिहान काठमाण्डौमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो । काठमाण्डौको प्रर्दशनीमार्गमा रहेको पर्यटन बोर्डको गेटबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहीदगेट, रत्नपार्क हुँदै जमलको राष्ट्रिय नाचघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया