वुमन्स च्याम्पियन्स लिग: विराटनगरकाे दाेस्राे जित, पाेखरा ६ विकेटले पराजित

 कात्तिक १, २०७६ शुक्रबार १६:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैमा जारी वुमन्स च्याम्पियन्स लिगमा विराटनगर टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो ।

किर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो । पोखराका लागि कविता कुँवरले सर्वाधिक २२ रन बनाइन् भने कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाइन् । यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन् ।

बलिङतर्फ विराटनगरकी सबनम राईले २ विकेट लिइन् भने सोनु खड्काले १ विकेट लिइन् ।

जवाफमा विराटनगरले १५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

सुरुवात राम्रो गर्न नसकेपछि विरानगरका लागि ज्योति पाण्डे र लक्ष्मी चौधरीले राम्रो पारी खेले । पहिलो खेलमा नै अर्धशतक प्रहार गरेकी ज्योतिले २२ रनको योगदान गरिन् । यस्तै डोली भट्टले १२ तथा लक्ष्मी चौधरीले २३ रनको योगदान गरिन् ।

विराटनगरले दुई रनमा पहिलो विकेट गुमाएको थियो भने ३८ रनमा दोस्रो, ५६ रनमा तेस्रो र ८६ रनमा चौथो विकेट खेर फालेको थियो । उसका लागि अन्तिममा अस्मिता कर्माचार्यले १६ रनको योगदान गरेकाी थिइन् ।

यो जितले विराटनगरले दुई खेलबाट चार अंक बनाएको छ भने पोखराको याे लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कन्सलाई ४ विकेटले हराएको थियो भने पोखरा क्वाट क्वीन्स काठमाण्डौसँग ८२ रनले पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया