म्यानमारद्वारा नेपाललाई बुद्धका ३० मूर्ति प्रदान

 कात्तिक २, २०७६ शनिबार १२:१५:५७ | रासस
unn.prixa.net

याङ्गूनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका  विभिन्न ३० मूर्ति प्रदान गरेको छ ।

प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा परराष्ट्र मन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्तको योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल–म्यानमारदिगो सम्बन्धको  प्रतीक भएको स्पष्ट गर्नुभयो ।

उहाँले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यानमारबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताउनुभयो । बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त अझै सान्दर्भिक भएको बताउँदै नेपाल भ्रमण  वर्षमा नेपाल र खासगरी लुम्बिनी आउन म्यान्मारका नागरिकलाई आग्रह गर्नुभयो ।

प्रतिष्ठानका संस्थापक भिक्षु सायदले बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा बौद्धधर्मको प्रचारप्रसारका लागि बुद्ध जान नसक्नुभएका स्थानहरुमा मूर्ति लगिएको र ती मूर्तिका प्रतिकृति फिर्ता गरी पुनः नेपाललाई दिने काम भएको जानकारी दिनुभयो ।

कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले बुद्धका ती मूर्ति लुम्बिनीस्थित  सङ्ग्रहालयमा संरक्षण गरी राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डाक्टर हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारी, म्यान्मारका लागि नेपाली राजदूत भीमकृष्ण उदास तथा  मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया