पर्यटक लोभ्याउँदै मकवानपुरका यी गन्तव्य

 कात्तिक २, २०७६ शनिबार १५:३४:१८ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका आर्थिक गतिविधिको केन्द्र र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । अझ पछिल्लो समयमा काठमाण्डौसँग नजिक भएकाले मकवानपुरको उत्तरी क्षेत्रलाई काठमाण्डौ आउने पर्यटक तान्न सक्ने केन्द्रका रुपमा पनि अगाडि बढाइएको छ । 

पहिलेको तुलनामा धेरै सम्भावनाहरु बढ्दै गएका कारण पर्यटकीय गन्तव्यको रुपमा परिचित उत्तरी क्षेत्र अहिले काठमाण्डौको विकल्पको रुपमा अघि बढाउन थालिएको हो । काठमाण्डौको शहरमा बस्ती बस्ती र जनसंख्या बढ्दै जाँदा मकवापनपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकालाई काठमाण्डौको विकल्पको रुपमा अघि बढाइएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले बताउनुभयो ।   

चित्लाङ–थानकोट सुरुङ मार्ग   

संघीय सरकारले मकवानपुरको थाहा नगरपालिकाको चित्लाङ र थानकोट जोड्न सुरुङमार्ग निर्माण गर्ने अन्तिम तयारी गरिरहेको छ । सुरुङ मार्ग बनेपछि काठमाण्डौबाट चित्लाङ आधा घण्टामा पुगिन्छ । यसले गर्दा पनि काठमाण्डौको विकल्पको रुपमा चित्लाङ अघि बढ्न सक्छ ।

सुरुङ मार्गकै कारण आर्थिक गतिविधि बढ्ने र काठमाण्डौबाट चित्लाङ तथा थाहा नगरपालिका आउन÷जान पनि सहज हुनेछ । सुरुङमार्ग बनेपछि आर्थिकरुपमा निकै चहलपहल हुने गन्तव्यका रुपमा विकास गर्न सकिने सांसद खतिवडा बताउनुहुन्छ ।  

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको तयारी   

मकवानपुरको थाहा नगरपालिकामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण गरिने भएको छ । यसका लागि यस क्षेत्रमा जग्गा पनि पर्याप्त रहेको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जनाउनुभयो ।

नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको मदन भण्डारी विश्वविद्यालयको पूर्वाधार विकासका लागि प्रारम्भिकरुपमा छलफल र अध्ययन गरी सहमति बनिसकेको छ । विश्वविद्यालय निर्माण भएपछि देशैभरका विद्यार्थीका लागि अध्ययनको राम्रो विकल्प हुनसक्छ । 

विश्वविद्यालयमा चार हजार जना विद्यार्थीसम्म थेग्न सक्छ । पूर्वाधार समितिका लागि यो आर्थिक वर्षमा एक अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । विधेयक लागू भएपछि आउँदो वर्षदेखि विद्यालय सञ्चलनमा आउनेछ । समितिले ललितपुरको सैँबुमा सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको छ ।

देशका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले यो विश्वविद्यालय खुल्न लागेको हो । 

बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले भन्नुभएको थियो, ‘विज्ञान तथा प्रविधिको विकासबिना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव छैन । त्यसैले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टिकृत विश्वविद्यालयका रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको छु ।’ 

सरकारले मदन विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलाई यसअघिको संघीय संसदको अधिवेशनमा पेश गरिसकेको छ । विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा रहने विधेयकमा उल्लेख छ । अहिले त्यो ठाउँमा सात सय ४० रोगनी जग्गा पहिचान भइ प्राप्तिको क्रम सुरु भएको छ ।

विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यस्थापन, कानुन र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथकरुपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति हुँदैनन् ।   

मकवानपुरको इन्द्रसरोवर प्रदेशको पर्यटकीय गन्तव्य   

प्रदेश नम्बर ३ का १३ वटा जिल्लामध्ये उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मकवानपुरको इन्द्रसरोवरलाई छनौट गरिएको छ । ‘एक प्रदेश एक पर्यटकीय गन्तव्य’का रुपमा इन्द्रसरोवरलाई प्रदेश ३ को पर्यटकीय गन्तव्यका रुपमा अगाडि सारिएको हो । 

पर्यटकीय गन्तव्यका रुपमा छनौट भएसँगै आउँदो आर्थिक वर्षका लागि इन्द्रसरोवरलाई एक करोड रुपैयाँ बजेटसमेत छुट्याएको मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले बताउनुभयो । यसैगरी प्रदेश ३ सरकारले पनि इन्द्रसरोवरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाउँदै त्यहीअनुसार बजेट पनि छुट्याएको छ । 

संघीय सरकारको पर्यटन मन्त्रालयले एक प्रदेश एक पर्यटकिय गन्तव्यका रुपमा छनौट गर्दा इन्द्रसरोवरलाई छनौट गरेर बजेट समेत छुट्याएर काम गर्न लागिएको सांसद खतिवडाले बताउनुभयो । यसैगरी देशैभरिका एक सय ओटा पर्यटकीय क्षेत्र छनौट गर्दा मकवानपुरका तीन ओटा ठाउँलाई पनि छनौट गरिएको छ । मकवानपुरको दामन, मकवानपुरगढी र इन्द्रसरोवरको फाखेलमैत्री पार्कलाई छनौट गरिएको सांसद खतिवडाले बताउनुभयो ।   

दामन, पालुङ, चित्लाङ पहिलेदेखि कै पर्यटकीय क्षेत्र   

मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने, सिमभन्ज्याङ, दामन, पालुङ, चित्लाङ, पर्यटकीय क्षेत्रका रुपमा परिचित छन् । यस क्षेत्रमा घुम्न आउने स्वदेशी र विदेशी पर्यटक पनि निकै रहेको स्थानीयहरु बताउँछन् । 

पछिल्लो समयमा थाहा नगरपालिका क्षेत्रमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको थाहा नगरपालिकाका मेयर लवशेर विष्ट बताउनुहुन्छ । काठमाण्डौबाट चित्लाङ, पालुङ लगायतका ठाउँसम्म आइपुग्ने सडकको स्तरोन्नति र विकास गरिँदैछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया