बिरामीको विश्वास जित्दै डाेटी जिल्ला अस्पताल

 कात्तिक २, २०७६ शनिबार १४:४३:३९ | विमल बिष्ट
unn.prixa.net

डोटी - जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ ।

डोटी जिल्लाका मात्र नभएर जिल्ला भन्दा बाहिरका बिरामी पनि उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् । अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दावी छ ।

छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका  लागि बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिश अवस्थीले बताउनुभयो । उहाँले भन्नभयो, ‘पछिल्लो समय हामीसँग उपकरण, चिकित्सक र औषधी उपलब्ध भएकाले हामीले बिरामीको रोग निको पार्न सफल भएका छौँ, त्यसैले पनि बिरामीको संख्या थपिँदै गएको हो ।’

डडेल्धुराको उपक्षेत्रीय अस्पातलमा सम्भव नभएपछि अमरगढी नगरपालिका-८ की हमेन्ती ओझा केही समय पहिले जिल्ला अस्पताल डोटीमा आउनु भएकी थिईन् । सुदूरपश्चिमको पहाडी जिल्लाको रिफरल हस्पिटलका रुपमा रहेको उपक्षेत्रीय अस्पातलमा नसकिएको प्रसूति डोटी अस्पतालमा सफल भएपछि उहाँ हालै घर फर्किनुभएको छ ।

डाक्टर नभएका कारण उपचार सम्भव नभएको भन्दै उहाँलाई डोटी रिफर गरिएको थियो । उपचार सफल भएपछि अहिले जिल्ला अस्पतालमा बिरामीहरुको भिड लाग्ने गरेको डाक्टर अवस्थीको दावी गर्नुभयो । उहाँले थप्नुभयो, ‘डडेल्धुराले डोटी पठायो उपचार हुन्छ कि हुँदैन भन्ने चिन्तामा थियौँ, तर उपचार सफल भएको छ ।’

ओझाको जिल्ला अस्पताल डोटीमा अप्रेशनविना नै प्रसूतिको सफल उपचार भएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

जिल्ला अस्पताल डोटीमा एक वर्षमा ६८ जनाको प्रसूति शल्यक्रिया सफल गरिएको अस्पतालका प्रमुख तथा डाक्टर भूषण मिश्रले जानकारी दिनुभयो । सहज गरी बच्चा पाउन नसकेका महिलाको अप्रेशनमार्फत बच्चा निकालिएको उहाँले बताउनुभयो ।

३० जना  महिलाले पहिलो बच्चा पाउँदा पनि अप्रेशन गरेको र उहाँहरुको दाेस्रो पटक अप्रेशन गरिएको जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत ७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया